

विराटनगर /मोरङमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जना प्रहरी जवानको मृत्यु भएको छ।
पहिलो दुर्घटना आइतबार साँझ ६:४० बजे मोरङको बेलबारी–८ चिसाङ पुलमा भएको हो। प्र१–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकलमा सवार अस्थायी प्रहरी चौकी नडाहा, सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्र सागर राईलाई प्र३–०१–०२४ च ०७३४ नम्बरको कारले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका राईलाई तत्काल उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको थियो, जहाँ चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए। मृतकको शव हाल कोशी अस्पतालमै राखिएको छ। ठक्कर दिने कार र चालक ३० वर्षीय मोहमत दुलाल मियालाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, दोस्रो दुर्घटना मोरङको बूढीगंगा गाउँपालिका–४ गोकुवा चोकमा भएको थियो। प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई मिक्सचर ट्रकले ठक्कर दिँदा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत २७ वर्षीय सशस्त्र प्रहरी जवान चन्द्रबहादुर तामाङको मृत्यु भएको हो। तामाङको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले ठक्कर दिएको थियो। गम्भीर घाइते तामाङलाई विराट शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो, तर दिउँसो पौने ३ बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय युशन राई पनि घाइते भएका छन्। धनकुटाको साँगरीगढी गाउँपालिका–९ का राईको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि मिक्सचर ट्रक र चालक ३० वर्षीय सुवास झाँगडलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
प्रहरीले दुवै घटनाका दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ।