बिर्तामोड नगरपालिकामा गुटबन्दी र कर्मचारीतन्त्रको रवैया समस्याग्रस्त

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, कार्तिक ०३, २०८१

विराटनगर/बिर्तामोड नगरपालिकामा कर्मचारीतन्त्रको गुटबन्दी र रवैयाका कारण सेवाग्राहीहरुले निरन्तर गुनासो गरिरहेका छन्। यसै विषयमा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले पनि खुलासा गर्दै, यिनै समस्याका कारण आफूले सरुवा लिएर गएको बताएका छन्।

खतिवडा, जो झापाको चन्द्रगढी निवासी हुन्, बिर्तामोडमा लामो समय काम गर्ने लक्ष्य राखेका थिए। तर, कार्यालयमा काम गर्ने वातावरण नभएपछि उनले केवल छ महिनामै सरुवा लिएको बताए। उनका अनुसार, जनप्रतिनिधिहरुले सहयोग गरे तापनि कर्मचारीतन्त्र र बाहिरी हस्तक्षेपका कारण काम गर्न असहज भएको थियो।

यसअघि पनि बिर्तामोड नगरपालिकामा काम गर्न आएका प्रमुख प्रशासकीय अधिकृतहरु मध्ये पशुपति खतिवडा र विनोद न्यौपाने मात्र लामो समय टिक्न सकेका थिए। राधाकृष्ण खतिवडासँगै, अन्य एक अधिकृत गणेश दाहालले पनि यहाँ काम गर्न नसकी सरुवा लिएका थिए।

नगरपालिकाभित्र कर्मचारीतन्त्रको तीनवटा गुट रहेको बताइन्छ, जसको प्रभावले कार्यालयको कामकाज र सेवाग्राही सेवा प्रभावित हुँदै आएको छ। गुटबन्दीका कारण कार्यालयका विभिन्न शाखाका प्रमुखहरु एकआपसमा संवाद नगर्ने अवस्था समेत सिर्जना भएको छ। दशैअघि सरुवा भएर गएका खतिवडापछि अब नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]