विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम झापामा सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, कार्तिक २७, २०८१

विराटनगर/नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापा जिल्लाको बिर्तामोडस्थित युनाइटेड क्लबमा सम्पन्न भएको छ। कोशी प्रदेशका ५ जिल्लामा सञ्चालन गर्न लागिएको यो ट्यालेन्ट हन्ट कार्यक्रम झापामा दोस्रो चरणमा भएको हो, जसमा विभिन्न सहरका एक सय बढी युवा क्रिकेटरहरूको सहभागिता रहेको थियो। ट्यालेन्ट हन्टमा टिमका कोच लाक्पा लामा र दिपेन्द्र चौधरीले उत्कृष्ट ५ खेलाडीहरूलाई छनोट गरेका छन्।

विराटनगर किंग्सका अपरेसन डाइरेक्टर दिपेन्द्र चौधरीका अनुसार झापा लगायत अन्य ३ जिल्लाका छनोट गरिएका खेलाडीहरूलाई विराटनगरमा हुने तयारी क्याम्पमा सामेल गराइनेछ। यसअघि टिमले इलाममा ट्यालेन्ट हन्ट सम्पन्न गरिसकेको छ भने आगामी कात्तिक २९ गते सुनसरी, कात्तिक ३० गते उदयपुर, र मंसिर २ गते मोरङमा ट्यालेन्ट हन्ट आयोजना गरिनेछ। कार्यक्रम कोशी प्रदेश क्रिकेट एसोसिएसनको सहकार्यमा भइरहेको छ।

विराटनगर किंग्सले “कोशीको शान हाम्रो पहिचान” भन्ने नाराका साथ उदयमान खेलाडीहरूको खोजी गरिरहेको छ। टिममा मार्की खेलाडी सन्दीप लामिछाने रहेका छन्। उनीसँगै प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल लगायतका खेलाडीहरूले टिमलाई बलियो बनाएका छन्। टिममा विदेशी खेलाडीहरू मार्टिन गप्टिल, अकिब इल्यास, निकोलस किर्टोन र क्रिस सोल रहेका छन् भने मुख्य प्रशिक्षकको जिम्मेवारी केभिन ओ’ब्रायनले सम्हाल्नेछन्।

क्यानको आयोजनामा पहिलो पटक नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ देखि पुष ६ सम्म आयोजना हुँदैछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]