१९ वर्षमुनिको एशिया कप : नेपाल श्रीलङ्कासँग पराजित

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर १४, २०८१

विराटनगर / एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनको हार व्यहोरेको छ।

श्रीलङ्काले दिएको २३४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४६ ओभर २ बलमा १७८ रनमा अलआउट भयो। नेपालका मयन यादवले उत्कृष्ट प्रदर्शन गर्दै ६२ रन बनाए। श्रीलङ्काका प्रभीन मनीषाले बलिङमा प्रभावशाली प्रदर्शन गर्दै ३ विकेट लिए।

यसअघि, टस हारेर ब्याटिङ थालेको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो। टोलीका शारुजन शानमुगनाथनले ६२ रनको महत्त्वपूर्ण इनिङ्स खेले। नेपालका बलर सन्तोष यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट हात पारे।

यूएईको शारजाहमा आयोजित प्रतियोगितामा आठ टोली सहभागी छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् भने समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन्।

नेपालले आफ्नो दोस्रो खेल पर्सि आइतबार बङ्गलादेशसँग खेल्नेछ भने तेस्रो खेल मंसिर १८ गते अफगानिस्तानसँग हुनेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]