पुलचोकलाई ५-१ ले पराजित गर्दै देविगन्ज सेमिफाइनलमा प्रवेश

Logo
भोजराज घिमिरे प्रकाशित शुक्रबार, बैशाख २६, २०८२

पथरीशनिश्चरे खेलकुद महोत्सव:
पुलचोकलाई ५-१ ले पराजित गर्दै देविगन्ज सेमिफाइनलमा प्रवेश
पथरीशनिश्चरे, बैशाख २६ —
नगर खेलकुद महोत्सवअन्तर्गत पथरीशनिश्चरेमा आज सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा देविगन्ज फुटबल क्लबले पुलचोक फुटबल क्लबलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

खेलको १० औं मिनेटमा देविगन्जले पहिलो अवसर गुमाएको थियो, जब बल पोलमा ठोक्किएर बाहिरिएको थियो। त्यसपछि १२ औं मिनेटमा पुलचोकका गोलरक्षक क्रिस धिमालले उत्कृष्ट बचाउ गरेका थिए।

२९ औं मिनेटमा पुलचोकका डिफेन्डर राजन धिमालको आत्मघाती गोलका कारण देविगन्जले १-० को अग्रता लिएको थियो। ३१ औं मिनेटमा कप्तान सन्तोष न्यौपानेले थप गोलको प्रयास गरे पनि बल पुनः पोलमा ठोक्किएर बाहिरिएको थियो।

दोस्रो हाफको शुरुवातसँगै देविगन्जले खेलमा दबदबा कायम राख्यो। ४१ औं मिनेटमा मिक्सन दासले गोल गर्दै अग्रता दोब्बर बनाए भने ४५ औं मिनेटमा भीषण राईले गोल थप्दै देविगन्जलाई ३-० को स्थितिमा पुर्‍याए।

पुलचोकको रक्षापंक्ति लगातार दबाबमा रहँदा ५६ औं मिनेटमा कप्तान सन्तोष न्यौपाने र ६५ औं मिनेटमा मिक्सन दासले पुनः एक/एक गोल थप्दै स्कोरलाई ५-० बनाएका थिए।

खेलको ७० औं मिनेटमा पुलचोकका रेहमान आचार्यले एक मात्र सान्त्वना गोल फर्काए। ईन्जुरी समयमा मिक्सन दासले ह्याट्रिक गर्ने अवसर पाए पनि उनको प्रयास पोलमा ठोक्किएर बाहिरिएको थियो।

आजको खेलमा देविगन्जका वसन्त लिम्बू म्यान अफ द म्याच घोषित भए। उनले ट्रफीसहित नगद २ हजार पुरस्कार प्राप्त गरे।

महोत्सवअन्तर्गत भोलिको पहिलो सेमिफाइनल खेल नाजरिन फुटबल क्लब र प्रभात सामुदायिक युवा क्लबबीच हुने आयोजकले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]