देवीगञ्ज एफसी दोस्रो पथरी शनिश्चरे नगर खेलकुद फुटबल च्याम्पियन

Logo
भोजराज घिमिरे प्रकाशित बिहिबार, जेठ ०२, २०८२

देवीगञ्ज एफसी दोस्रो पथरी शनिश्चरे नगर खेलकुद फुटबल च्याम्पियन मोरङ , पथरी शनिश्चरे – बैशाख ३१

दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव–२०८२ अन्तर्गत पुरुष फुटबलको उपाधि देवीगञ्ज एफसीले उचालेको छ। पथरी शनिश्चरे–१ स्थित जाँते मोडको प्रस्तावित रंगशालामा आज सम्पन्न फाइनल खेलमा देवीगञ्जले प्रभात सामुदायिक फुटबल क्लबलाई ट्राईबेकर हुँदै सडेन डेथमा पराजित गर्दै उपाधि हात पारेको हो।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि ट्राईबेकरमार्फत निर्णय लिइएको थियो। ट्राईबेकरबाट पनि खेल बराबरी भएपछि सडेन डेथमा पुगेको खेलमा देवीगञ्ज विजयी बन्न सफल भयो।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका देवीगञ्जका जोसन कार्की म्यान अफ द म्याच घोषित भए भने गोल्डेन बुट प्रभात सामुदायिक फुटबल क्लबका गोलकिपर समीर क्षेत्रीले जिते।

समापन समारोहमा पथरी शनिश्चरे नगरप्रमुख मोहन प्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशी राई, नेपाल शिक्षक महासंघ पथरी शनिश्चरे अध्यक्ष अर्जुनकुमार बुढाथोकी लगायतले खेलाडीहरूलाई ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरे।

नगर खेलकुद महोत्सव अन्तर्गत फुटबल (पुरुष र महिला), भलिबल (पुरुष र महिला), क्रिकेट, पौडी, भारतोलन, म्याराथन, कराँते, बुद्धिचाल लगायतका विविध खेलमा प्रतिस्पर्धा भएको थियो।

पुरस्कार विवरण यसप्रकार छन्:

पुरुष फुटबल: प्रथम – रु १ लाख, द्वितीय – रु ५० हजार

महिला फुटबल: प्रथम – रु १५ हजार, द्वितीय – रु ७ हजार

भलिबल: प्रथम – रु ३१ हजार, द्वितीय – रु २१ हजार

क्रिकेट: प्रथम – रु ३५ हजार, द्वितीय – रु २० हजार

म्याराथन (पुरुष/महिला): प्रथम – रु ७ हजार, द्वितीय – रु ५ हजार, तृतीय – रु ३ हजार, सान्त्वना – रु २ हजार

कराँते: पुरुष र महिला दुबै वर्गका प्रथम खेलाडीलाई रु ५ हजार

बुद्धिचाल: प्रथम – रु १० हजार, द्वितीय – रु ६ हजार, तृतीय – रु ४५ सय, चौथो – रु ३५ सय, पाँचौँ–सातौँ – रु २५ सय

प्रत्येक म्याचको म्यान अफ द म्याच: रु २ हजार

गोल्डेन बुट, गोल्डेन बल, गोलब्स विधा: जनही रु ५ हजार

समापन समारोह नगर खेलकुद विकास समितिका संयोजक दीपक राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगरका वडाध्यक्षहरू, इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहन विक्रम दाहाल, स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्य, कार्यपालिका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक संस्था तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

नगर खेलकुद समितिका सदस्य सचिव नवीन खुलाल बुढाथोकीले विजयी खेलाडीहरूलाई बैंक खातामार्फत नगद पुरस्कार प्रदान गरिने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]