

सञ्चार सहकारीको १४ औं स्थापना दिवसमा चार पत्रकार सम्मानित
भोजराज घिमिरे –
विराटनगर, असार २७ — सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा चारजना पत्रकारलाई विभिन्न श्रेणीमा सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
शुक्रबार आयोजित विशेष समारोहमा ५१ हजार रुपैयाँ राशिको ‘तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान’ नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष तथा नेपाल खोज अनलाइनका प्रधान सम्पादक सुवास ढकाललाई प्रदान गरिएको हो।
त्यस्तै, ५० हजार रुपैयाँ राशिको ‘ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार’ महासंघ मोरङका पूर्वअध्यक्ष तथा उद्घोषडेली डटकमका सम्पादक बन्धु पोखरेललाई प्रदान गरिएको छ।
२१ हजार रुपैयाँ राशिको ‘मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार’ ब्लाष्ट दैनिक विराटनगरका संवाददाता अनिल श्रेष्ठलाई प्रदान गरिएको छ भने
१० हजार रुपैयाँ राशिको ‘मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार’ कोशी सन्देश डटकमकी डेस्क सम्पादक रुमा दाहाल (निशा) लाई प्रदान गरिएको हो।
पुरस्कृत पत्रकारहरूलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए।
त्यस्तै, सहकारीका संस्थापक अध्यक्ष मोहन भण्डारी, वर्तमान अध्यक्ष दिपक दाहाल र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि पत्रकारहरूलाई दोसल्ला र माला लगाएर सम्मान गरेका थिए।
कार्यक्रममा कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एकदेव अधिकारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हिमा चेम्जुङ, सञ्चारकर्मी सञ्चार सहकारीका अध्यक्ष दिपक दाहाल लगायतले शुभकामना मन्तव्य दिएका थिए।
यसअघि पनि सञ्चार सहकारीले राजेन्द्र दाहाल, प्रमोद प्रधान र मोहन भण्डारी लगायतका व्यक्तित्वहरूलाई सम्मान गरिसकेको छ। विभिन्न श्रेणीका अघिल्ला सम्मानितहरूको सूचीमा भीम चापागाईं, सुशीला पाठक, अभयकुमार राई, देवनारायण साह, जुनु भट्टराईलगायत छन्।