

इतिहास बोकेको रथयात्रा विराटनगरमा भव्य रूपमा हुँदै, ५ लाख भक्तजनको सहभागिता अनुमान
विराटनगर, साउन १३ – वैदिक सनातन हिन्दू परम्परा अनुसार स्थापित श्री राधाकृष्ण मन्दिर, विराटनगर–१, २ र ३ को संगमस्थल पानीटंकी पोखरियामा आगामी भदौ १ गते ऐतिहासिक रथ यात्रा भव्य रूपमा सम्पन्न गरिने भएको छ।
वि.सं. १९८८ मा धर्मप्रेमी पं. श्री इन्द्रलाल भट्टद्वारा स्थापना गरिएको मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हुने रथयात्रा ९४ औं वर्षमा प्रवेश गर्दैछ। यस रथ यात्रा महोत्सवलाई विराटनगरको मात्र नभई सम्पूर्ण पूर्वाञ्चलको धार्मिक धरोहर र गौरवका रूपमा लिइन्छ।
उक्त रथयात्रा एशियामै जगन्नाथपुरीपछि दोस्रो ठूलो ऐतिहासिक धार्मिक यात्रा मानिन्छ। यस वर्षको यात्रा विशेष रूपमा नव निर्मित २९ फिट ३ ईन्च अग्लो रथमा सम्पन्न गरिनेछ। रथको चौडाई १४ फिट, लम्बाई १५ फिट र जुवा भाग ८ फिट रहेको छ। रथ तान्न दायाँ र बायाँ १६५ फिट लम्बाइको डोरी प्रयोग गरिनेछ, जसमा पुरुष र महिला भक्तजनले आ-आफ्नो समर्पणका साथ सहभागिता जनाउनेछन्।
भदौ १ गते आइतबार अपरान्ह ३:३० बजे मन्दिरबाट प्रारम्भ हुने रथयात्रा मेनरोड, ट्राफिक चौक, रोडशेष, महेन्द्र चौक, धरान रोड, वरगाछी, दुर्गा चौक हुँदै पुनः मन्दिर परिसरमै समापन हुनेछ। यात्राले ८ किलोमिटर दुरी पार गर्नेछ र ४४ स्थानमा विश्राम गर्नेछ।
मन्दिर कार्य समिति अनुसार करिब ५ लाख भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। सफल व्यवस्थापनका लागि श्री कैलाश रेग्मीको अध्यक्षतामा १००१ सदस्यीय मूल समारोह समिति तथा १६ वटा उपसमिति गठन गरिएको छ।
समारोहको सहजीकरण र सुरक्षा व्यवस्थाका लागि कोशी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, विराटनगर महानगरपालिका, नेपाल प्रहरी, प्रदेश प्रहरी, विद्युत प्राधिकरण, टेलिकम, खानेपानी संस्थान लगायतका निकायहरू सक्रिय रहेका छन्।
रथमा ७ जना व्यक्तिको टोली
रथमा श्रीराधाकृष्ण आरूढ गरिने छ, र रथभित्र ५ जना पण्डित, १ जना प्राविधिक र १ जना समिति प्रतिनिधि रहनेछन्। अग्रभागमा विभिन्न जातजाती, धर्म, सम्प्रदाय झल्किने झाँकी तथा भजनमण्डली रहने छ, जसको लम्बाइ करिब ३ किलोमिटर हुने अनुमान छ।
मन्दिर व्यवस्थापन समितिका पदाधिकारी
अध्यक्ष: श्री कैलाश रेग्मी
उपाध्यक्ष: नन्द किशोर राठी
सचिव: कृष्ण बहादुर कार्की
सह-सचिव: नवीनिता रिजल
कोषाध्यक्ष: नरेश राठी
सदस्यहरू: अन्जुला भण्डारी थापा, राजन न्यौपाने, सुनिल पौडेल, सन्तोष महत, सुजित कुमार चेल, सन्जय अग्रवाल
आमन्त्रित सदस्यहरू: कमल प्रसाद घिमिरे, निर्मल पौडेल, अन्जु कार्की
व्यवस्थापन संयोजक: लिलानाय बराल
सह-संयोजक: चम्पालाल राठी
सदस्यहरू: हरिबहादुर कार्की, दामोदर प्रसाद घिमिरे, पुनम कुमार गुप्ता, बाबुराजा ओझा
रथ निर्माण नेपाल र भारतका कारीगरहरूको सहयोगमा भइरहेको छ। कृष्ण जन्माष्टमीको भोलिपल्ट नव निर्मित रथमा श्रीराधाकृष्ण आरूढ गराई नगर परिक्रमा गराइनेछ।