औद्योगिक क्षेत्र स्थापनामा सरकारको चासोको अभावप्रति उद्योगीहरूको गुनासो

Logo
भोजराज घिमिरे प्रकाशित बिहिबार, साउन १५, २०८२

औद्योगिक क्षेत्र स्थापनामा सरकारको चासोको अभावप्रति उद्योगीहरूको गुनासो
– विराटनगर, साउन १४
विराटनगरका उद्योगीहरूले औद्योगिक पूर्वाधार निर्माणमा सरकार उदासीन रहेको भन्दै गुनासो गरेका छन्। बुधबार उद्योग संगठन मोरङको आयोजनामा सम्पन्न अन्तरक्रियामा उद्योगीहरूले सरकार र निजी क्षेत्रको लगानी असन्तुलित ढंगमा भइरहेको बताएका हुन्।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग स्थापना गर्दा जग्गा र अन्य पूर्वाधारमा अत्यधिक लगानी गर्नु पर्ने बाध्यता औद्योगिक विकासमा अवरोध भइरहेको बताए। उनले लामो समयदेखि विराटनगर आसपास औद्योगिक क्षेत्र स्थापनाको माग गर्दै आएको तर सरकारले कुनै चासो नदेखाएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे।

राठीले स्पष्ट नीतिगत ढाँचा, सहुलियत र पूर्वाधारसहितको औद्योगिक क्षेत्र विकास नगरेसम्म लगानीकर्ताहरू आकर्षित नहुने धारणा राखे। कार्यक्रममा उद्योग संगठन मोरङले सुनसरीको बर्जु गाउँपालिकास्थित अमडुवामा रहेको साल्ट ट्रेडिङ लिमिटेडको करिब ६ सय बिघा सरकारी जग्गामा औद्योगिक क्षेत्र स्थापना गर्न सरकार समक्ष प्रस्ताव राखेको जानकारी गराइयो।

उद्योग क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिका अध्यक्ष बाबुराम पन्तले उक्त प्रस्तावलाई औपचारिकरूपमा समितिमा पठाउन सुझाव दिए। समितिमा छलफल गरी निष्कर्ष निकालेर नेपाल सरकारसमक्ष पठाउने आश्वासन पनि उनले दिए।

राठीले अमडुवाको जग्गा औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त भएको बताउँदै समितिलाई सकारात्मक निर्णय गर्न आग्रह गरे। हाल सुनसरी–मोरङ औद्योगिक करिडोरमा करिब ७ सय साना, मझौला तथा ठूला उद्योग सञ्चालनमा छन्। तर पूर्वाधारको अभावले उनीहरू समस्यामा परेको भन्दै उद्योगीहरूले अमडुवामा नयाँ क्षेत्र खोल्नुपर्ने आवश्यकता औंल्याए।

अमडुवा क्षेत्र भारतको जोगबनी नाकाबाट मात्र २ किलोमिटर टाढा रहेकाले भन्सारलगायत ढुवानी लागतसमेत कम हुने उद्योगीहरूको विश्वास छ। यसले दोस्रो तथा तेस्रो मुलुकबाट आउने कच्चा पदार्थ सहजै आपूर्ति गर्न सकिनेछ।

कार्यक्रममा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुराना, उपाध्यक्ष सुबोध कोइराला, कोषाध्यक्ष पारस लुनिया, मोरङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल साहसहित नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]