

भीम–अजिता वक्ता च्याम्पियनशिप : टंकीसिनवारी जेसीजको ऐतिहासिक राष्ट्रिय कार्यक्रम
भोजराज घिमिरे
मोरङ, साउन १५
भविष्यका परिवर्तनकारी नेतृत्वहरू उत्पादन गर्ने उद्देश्यले टंकीसिनवारी जेसीजले ‘भीम–अजिता वक्ता च्याम्पियनशिप’ नामक राष्ट्रिय स्तरको वक्तृत्व प्रतियोगिता आगामी भाद्र २७ गते आयोजना गर्ने भएको छ। मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित टंकीसिनवारीमा आयोजना हुने प्रतियोगितामा देशभरका १८४ वटा जेसीज शाखा र जुनियर जेसीज शाखाका प्रतिनिधिहरू सहभागी हुनेछन्।
नेपाल पत्रकार महासंघ, मोरङको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत टंकीसिनवारी जेसीजका अध्यक्ष जेसी अनिश भट्टराईले कार्यक्रमको औपचारिक घोषणा गर्दै नेतृत्व, अभिव्यक्ति र सामाजिक चेतनाको संगम गराउने उद्देश्य रहेको जानकारी दिए।
अध्यक्ष भट्टराईका अनुसार, नेतृत्व उत्पादन गर्ने विद्यालयको रूपमा चिनिएको टंकीसिनवारी जेसीजले अब नेतृत्व सशक्तिकरणलाई दीर्घकालीन अभियानका रूपमा अगाडि बढाउने लक्ष्य राखेको छ। प्रतियोगितामा भाग लिन इच्छुक सहभागीहरूले रु १५०० रजिस्ट्रेसन शुल्क तिर्नुपर्नेछ।
नेतृत्व र व्यक्तित्व विकासका लागि “Leadership Pipeline” निर्माण
टंकीसिनवारी जूनियर जेसीजको सशक्त ब्रान्डिङ
भाषण र अभिव्यक्तिका माध्यमबाट युवामा आत्मविश्वास र सामाजिक चेतना अभिवृद्धि
राष्ट्रिय मञ्चमा उदाउँदा प्रतिभाहरूको पहिचान र मूल्याङ्कन
विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम पुरस्कार रु ३०,०००, द्वितीय पुरस्कार रु १५,००० र तृतीय पुरस्कार रु १०,००० तोकिएको छ।
कार्यक्रमलाई निरन्तरता दिन टंकीसिनवारी जेसीजका पिता संस्थापक अध्यक्ष भीम घिमिरेले रु १ लाख बराबरको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता जनाउँदै सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन्।
कार्यक्रममा संस्थापक अध्यक्ष भीम घिमिरे, विभिन्न सामाजिक अभियन्ता, जेसीज नेतृत्व र सञ्चारकर्मीहरूको उपस्थिति रहनेछ।
२००४ मा स्थापना भएको टंकीसिनवारी जेसीजले विगतदेखि नेतृत्व विकास, सामाजिक सेवा र युवाको सशक्तीकरणमा उल्लेखनीय योगदान दिँदै आएको छ।
यस पटकको वक्तृत्व प्रतियोगिता संस्थाको स्थायित्व र नेतृत्व निर्माण अभियानको ऐतिहासिक मोड बन्ने अपेक्षा गरिएको छ। यो कार्यक्रमले राष्ट्रिय स्तरमा युवा नेतृत्व निर्माणको नयाँ युगको थालनी गर्ने विश्वास गरिएको छ।