विराटनगर व्यापार खस्कँदै: सीमापार किनमेल, नीतिगत समस्या र युवाशक्ति पलायनप्रति – मन्त्रीदेखि उद्योगीहरूचिन्तित

Logo
भोजराज घिमिरे प्रकाशित मंगलबार, साउन २०, २०८२

विराटनगर व्यापार खस्कँदै: सीमापार किनमेल, नीतिगत समस्या र युवाशक्ति पलायनप्रति – मन्त्रीदेखि उद्योगीहरूचिन्तित
भोजराज घिमिरे, विराटनगर, साउन १८
मोरङ चेम्बर अफ कमर्सको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन समारोहमा सहभागी वक्ताहरूले विराटनगरको खस्कँदो व्यापारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सीमापार भारतीय बजारको आकर्षण, व्यापार नीतिको अस्पष्टता, र युवाशक्तिको तीव्र पलायनले आन्तरिक बजार धरासायी बन्दै गएको वक्ताहरूको निष्कर्ष थियो।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशबाट सबैभन्दा बढी कफी निर्यात गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको जानकारी दिनुभयो। उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर औद्योगिक विस्तारमा सरकार गम्भीर रहेको धारणा व्यक्त गर्नुभयो।

विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले सीमापार भारतीय बजारतर्फको आकर्षणले स्थानीय व्यापारमा प्रतिकूल असर परेको भन्दै नेपाली उत्पादन प्रवर्द्धनमा सरकार गम्भीर नबने अवस्था झन जटिल हुने चेतावनी दिनुभयो।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कोभिड–१९ र रुस–युक्रेन युद्धपछिको वैश्विक आर्थिक अस्थिरता, मौद्रिक नीतिको कठोरता र उच्च ब्याजदरका कारण मुलुकको समग्र अर्थतन्त्र नै संकटमा परेको बताउनुभयो। कोशी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउतले कृषिमा अपार सम्भावना रहेकाले राज्यले सो क्षेत्रमा पुँजी वृद्धिमा ध्यान दिनुपर्ने तर्क गर्नुभयो।

सीमापार किनमेलले व्यापार ५० प्रतिशतले घट्यो

वक्ताहरूले विराटनगरको व्यापार करिब ५० प्रतिशतले घटेको उल्लेख गरे। जोगबनी बजारतर्फ नेपाली उपभोक्ता र व्यवसायीको आकर्षण बढेसँगै आन्तरिक बजार कमजोर बन्दै गएको उनीहरूको भनाइ थियो। मन्त्री मगरले “विराटनगरका टाठाबाठाहरू जोगबनी जान थालेपछि यहाँको व्यापार धरासायी हुँदै गएको हो,” भन्दै सीमापार किनमेलको गम्भीर असरबारे संकेत गर्नुभयो।

महानगर प्रमुख कोइरालाले पनि सीमामा नियन्त्रणको प्रयास गरे पनि व्यवसायीहरूको समर्थन अभावले अवस्था झनै बिग्रेको बताए।

उद्योगीहरूको जोड: औद्योगिक विस्तार र नीतिगत सुधार

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, मोरङ चेम्बरका पूर्व अध्यक्ष यादव पोखरेल लगायतले राज्यले औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

यसै अवसरमा व्यवसायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै श्रीराम आयलका प्रदीप मुरारका, न्युरो अस्पतालका डा. वीरेन्द्र विष्ट, पल्स फेसनका निमेष प्रधान, क्वालिटी रिफाइनरीका घनश्याम कावरा, र नोबेल मेडिकल कलेजका लोकनाथ न्यौपानेलाई सम्मान गरिएको थियो।

समग्र विकासको अवधारणा: यादव पोखरेलको प्रस्तुति
यादव पोखरेलले हिमाल, पहाड र तराईको विशिष्टता अनुसार क्षेत्रीय सन्तुलित विकासमार्फत समृद्धि सम्भव हुने उल्लेख गर्नुभयो। उहाँले जलस्रोत संरक्षण, साना जलविद्युत्, इको टुरिजम, कृषि–पशुपालन, जैविक उत्पादन, औद्योगिक विस्तार र भूमिसुधारमा लगानी आवश्यक रहेको धारणा राख्नुभयो।

नेपालमा स्रोतको अभाव नभए पनि वैज्ञानिक उपयोग हुन नसकेको भन्दै जडीबुटी, वनस्पति प्रणाली र हावापानीको प्रयोगमार्फत स्थानीय उत्पादनलाई विश्व बजारमा पुर्‍याउन सकिने तर्क पनि पोखरेलले गर्नुभयो।

युवाशक्ति पलायन र सरकारको उदासीनता

पोखरेलले युवाशक्ति तीव्र रूपमा विदेश पलायन भइरहेकाले देशभित्र मानव संसाधनको संकट उत्पन्न भइरहेको उल्लेख गर्दै, “गाउँ, विद्यालय, खेत–कारखानाबाट युवा हराउँदै गएको बेला सरकारले रेमिटेन्समा गर्व गर्नु विडम्बनापूर्ण हो,” भन्दै सरकारको सोचमाथि कटाक्ष गर्नुभयो।

कार्यक्रम समापन
कार्यक्रमको पहिलो सत्रको समापन मोरङ चेम्बरका उपाध्यक्ष शिवप्रसाद रिजालले गर्नुभयो। प्रमुख तथा विशिष्ट अतिथिहरूलाई धन्यवाद चेम्बरका महासचिव कृष्ण प्रसाद दाहाल र सचिव हरिबहादुर श्रेष्ठले व्यक्त गर्नुभयो। कोषाध्यक्ष मनोज कुमार मिश्राले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]