

नेवारी समुदायद्वारा विराटनगर, काठमाडौं, हेटौंडा, झापालगायत विभिन्न ठाउँमा गाईजात्रा
मृतात्माको चिरशान्तिको कामना गर्दै नेवारी समुदायले आइतबार बिहान विराटनगर, काठमाडौं, हेटौंडा, झापा लगायतका विभिन्न स्थानहरूमा झाँकीसहित वृहत गाईजात्रा र्याली निकालेका छन्। रंगीचंगी भेषभूषा, मुखुण्डो, परम्परागत वेशभूषा र सांस्कृतिक झाँकीसहितको र्यालीमा समुदायका सबै उमेरका मानिसहरूको उत्साहजनक सहभागिता रहेको थियो।
विराटनगरमा झिःपुचबाट सुरु भएको गाईजात्रा र्याली संसारीमाई मन्दिर हुँदै मेन रोड, तीनपैनी र पोखरिया हुँदै सम्पन्न भएको थियो। सहभागीहरूले परम्परागत नेवारी बाजा, ढोल, नगाडा, धिमे बाजा बजाउँदै नगरपरिक्रमा गरेका थिए।
पर्वको महत्व र इतिहास
नेवार समुदायमा गाईजात्रा दिवंगत आत्माको स्मृतिमा आयोजना गरिने प्रमुख सांस्कृतिक पर्व हो। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मूलत: काठमाडौं उपत्यकाबाट सुरु भए पनि अहिले नेवार समुदायको बसोबास रहेका देशभरका स्थानहरूमा उतिकै भव्यताका साथ मनाइन्छ। यस पर्वमा गाई (वा गाईको प्रतिरूप)लाई अगाडि हिँडाएर नगर परिक्रमा गरिन्छ, जसलाई मृतात्माको आत्मिक शान्ति र मोक्ष प्राप्तिको प्रतीक मानिन्छ।
हेटौंडामा विशेष कार्यक्रम
यसै क्रममा, हेटौंडामा समाजसेवी तथा सामाजिक अभियान्ता सरिता श्रेष्ठकी माता तथा नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवं नारायणी यातायात व्यवसायी संघ हेटौंडाका अध्यक्ष हिरालाल श्रेष्ठकी माता स्व. दीलमाया श्रेष्ठको सम्झनामा विशेष गाईजात्रा आयोजना गरिएको थियो। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्न भगवानसँग सामूहिक प्रार्थना पनि गरिएको थियो।
गाईजात्रामा श्रेष्ठ परिवारका हिरालाल श्रेष्ठ, उमा श्रेष्ठ, मोतीलाल श्रेष्ठ, सुसिला श्रेष्ठ, धर्मलाल श्रेष्ठ, रामलाल श्रेष्ठ, चित्रा श्रेष्ठ, शुभद्र श्रेष्ठ, डा. किशोरलाल श्रेष्ठ, नतासा श्रेष्ठ, गणेशलाल श्रेष्ठ, शुसिला श्रेष्ठलगायत अन्य परिवारजनको सक्रिय सहभागिता रहेको थियो।
झापामा पनि उत्साहपूर्वक मनाइयो
झापामा पनि यस वर्ष नेवार समुदायले गाईजात्रा पर्व धुमधामका साथ मनाएको छ। बिर्तामोड, दमक, भद्रपुरलगायतका स्थानहरूमा विभिन्न टोलबाट र्याली निस्किएको थियो। सहभागीहरूले ढाकाटोपी, हाकुपटासी, गुन्युचोली, परम्परागत गहना र सांस्कृतिक झाँकीसहितको र्याली निकाल्दै सडक परिक्रमा गरेका थिए। कार्यक्रममा बालबालिकादेखि वृद्धवृद्धासम्मको उल्लेख्य सहभागिता देखिएको थियो।
नेवार समाज झापाका पदाधिकारीहरूले गाईजात्रा पर्वले समुदायबीचको एकता, परम्परागत कला, संस्कृति र धार्मिक आस्थाको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। उनीहरूले नयाँ पुस्तामा सांस्कृतिक चेतना जगाउने उद्देश्यले आगामी वर्षहरूमा अझ ठूलो स्तरमा कार्यक्रम गर्ने योजनाको पनि जानकारी दिएका छन्।