न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी अस्पतालको रजत महोत्सव सम्पन्न

Logo
भोजराज घिमिरे प्रकाशित आइतबार, भाद्र ०८, २०८२

न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी अस्पतालको रजत महोत्सव सम्पन्न

विराटनगर । उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै दुई दशकभन्दा लामो यात्रा तय गरेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी अस्पतालले शनिबार भव्य तथा गरिमामय समारोहका बीच रजत महोत्सव सम्पन्न गरेको छ।

कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले निजी स्वास्थ्य संस्थाले व्यापारिक दायित्वसँगै सेवा प्रवाहलाई समान प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले विशेषगरी गरिब तथा असहाय वर्गलाई गुणस्तरीय उपचारमा पहुँच दिलाउनु अस्पतालहरूको पहिलो कर्तव्य भएको उल्लेख गर्दै सरकार कानुनी संरचना निर्माणमा सहयोग गर्न तत्पर रहेको स्पष्ट पारे।

सोही अवसरमा कोशी प्रदेशसभाका सभामुख अमरबहादुर बिष्टले सरकारले स्वास्थ्य क्षेत्रमा जनतालाई पर्याप्त सुविधा दिन नसकेकोप्रति दुःख व्यक्त गर्दै निजी क्षेत्रका अस्पतालहरूले यो अभाव पूरा गर्न अझ सक्रिय हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी प्रख्यात गायिका तथा समाजसेवी आनी छोइङ डोल्माले अस्पताल र चिकित्सकलाई समाजले ‘आमापछि देवीदेवताको स्वरूपमा’ सम्मान गर्ने गरेको उल्लेख गर्दै पीडित जनताको दुख कम गर्न अस्पतालहरूको भूमिका अझ प्रभावकारी र संवेदनशील बन्नुपर्नेमा धारणा राखिन्।

रजत महोत्सवको अध्यक्षता अस्पताल अध्यक्ष डा. वीरेन्द्रकुमार बिष्टले गरेका थिए। कार्यक्रममा उत्कृष्ट कार्य गर्ने चिकित्सक, नर्स तथा कर्मचारीलाई सम्मान गरिएको थियो भने अस्पताल स्थापना कालदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका व्यक्तिहरूलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो।

अस्पतालकी निर्देशक डा. अनिशा बिष्टले आगामी दिनमा समुदायमुखी कार्यक्रम, गुणस्तरीय उपचार विस्तार, प्रविधिमैत्री सेवा र दक्ष जनशक्ति अभिवृद्धिलाई प्राथमिकतामा राखी अघि बढ्ने प्रतिबद्धता जनाइन्।

सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]