

विराट मेडिकल कलेजमा २ सय शैय्याको स्त्री तथा प्रसूति भवन
पूर्वाञ्चलको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक फड्को, पाँच नयाँ शल्यक्रिया कक्ष सञ्चालन
मोरङ,
पूर्वाञ्चलको स्वास्थ्य सेवामा विराट मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ युगको सुरुवात गरेको छ। मोरङको बुढीगंगा–२, टंकिसिनवारीस्थित अस्पतालले मंगलबार स्त्री तथा प्रसूति सेवाका लागि समर्पित २ सय शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ल्याएको छ।
नयाँ भवनको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले गरेका हुन्।
अत्याधुनिक सुविधा ५ वटा नयाँ शल्यक्रिया कक्ष ,
२ सय शैय्याको प्रसूति वार्ड,
३० डिलक्स क्याबिन,
छुट्टै गाइनो–आइसीयू
२४ सघन अप्रेशन थिएटर (पहिले १९, अब २४)
यससँगै अस्पतालमा स्त्री तथा प्रसूति आपतकालीन सेवा र ल्याप्रोस्कोपिक उपचार सुविधा थप व्यवस्थित बनेको छ।
“महिला स्वास्थ्यमा सुरक्षित र गुणस्तरीय उपचार सुनिश्चित”
अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्र बहादुर कार्कीले भने :
“स्त्री तथा प्रसूति जस्तो संवेदनशील क्षेत्रमा सुरक्षित र व्यवस्थित उपचार सुनिश्चित गर्न यो भवन माइलस्टोन सावित हुनेछ।”
उनले सरकारद्वारा बढाइएको एमबीबीएस कोटालाई ‘१० वर्षपछिको आइस ब्रेक’ भन्दै स्वागत गरे र चिकित्सा शिक्षाको विकासमा निजी क्षेत्रलाई साझेदार बनाउन आग्रह गरे।
“विदेशिने ८ खर्ब रुपैयाँ रोक्नुपर्छ” प्रमुख अतिथि प्रा.डा. वाग्लेले भने :
“वार्षिक ८ खर्ब रुपैयाँभन्दा बढी रकम नेपालीहरू विदेश पढ्न जाने क्रममा बाहिरिन्छ। अब नेपालमै अंग्रेजी माध्यमबाट गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार गर्न सके विदेशी विद्यार्थी आकर्षित हुनेछन्।”
उनले विराट मेडिकल कलेजलाई स्वास्थ्य र शिक्षामा “उदाहरणीय संस्था” भन्दै प्रशंसा गरे
प्रा.डा. मनोज हुमागाईं (डीन, चिकित्सा शास्त्र संकाय) :
“समयानुकूल पाठ्यक्रम परिवर्तन गर्दै आएका छौं। काठमाडौं विश्वविद्यालय अब विदेशी विद्यार्थीका लागि पनि शैक्षिक केन्द्र बन्नेमा ढुक्क छ।”
डा. सन्तोष उपाध्याय काफ्ले (प्राचार्य, विराट मेडिकल कलेज) :
“नयाँ भवन, नयाँ कक्षाकोठा र अत्याधुनिक प्रविधिबाट शिक्षाको स्तर अझै उचाइमा पुर्याइनेछ।”
बिरामीका आफन्त, चिकित्सक र कर्मचारीहरूको सहजताका लागि ‘विराट खाजा घर’ सञ्चालन
सहायक प्रमुखमा डा. मनोज भट्टराई र डा. किशोर गुरुङलाई नियुक्तिपत्र वितरण
विद्यार्थी, चिकित्सक र नर्सहरूको लागि विशेष अभिमुखीकरण कार्यक्रम
२ सय शैय्याको स्त्री तथा प्रसूति भवनसहित विराट मेडिकल कलेजले पूर्वाञ्चलको स्वास्थ्य सेवामा ऐतिहासिक फड्को मारेको छ। यसले महिला स्वास्थ्य उपचारलाई अझ सुरक्षित, सुलभ र प्रभावकारी बनाउन मद्दत गर्ने मात्र नभई नेपालमै गुणस्तरीय चिकित्सा शिक्षाको नयाँ ढोका खोलेको छ।