ऋषिदेव समाजका ४० महिलालाई धार्मिक तीर्थयात्रा, आभा फाउन्डेशनको सराहनीय पहल
विराटनगर ।
शिक्षा, स्वास्थ्य तथा महिला सशक्तीकरणका क्षेत्रमा निरन्तर सक्रिय सामाजिक संस्था आभा फाउन्डेशनको पहलमा विराटनगर महानगरपालिका क्षेत्रका ऋषिदेव समाजका करिब ४० जना महिलालाई धार्मिक तीर्थयात्रा गराइएको छ।
सामाजिक समावेश, सांस्कृतिक एकता तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त यात्रा सफलतापूर्वक सम्पन्न भएको हो।
फाउन्डेशनकी अध्यक्ष आभा अनुपमाले आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका महिलालाई मुख्यधारामा ल्याउने, उनीहरूमा आत्मविश्वास अभिवृद्धि गर्ने तथा धार्मिक–सांस्कृतिक चेतना विस्तार गर्ने लक्ष्यका साथ यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्। “महिलाहरूलाई घर–परिवारको दायित्वभन्दा बाहिर निस्केर समाजसँग जोडिने अवसर दिनु पनि सशक्तीकरणकै महत्वपूर्ण पाटो हो,” उनले भनिन्।
उनका अनुसार सम्पूर्ण तीर्थयात्रा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको व्यक्तिगत आर्थिक सहयोगमा सम्पन्न भएको हो। उपमेयर कार्कीको यस योगदानको स्थानीयस्तरमा व्यापक प्रशंसा भइरहेको छ।
तीर्थयात्राका क्रममा सहभागी महिलाहरूले सप्तरीस्थित प्रसिद्ध शक्तिपीठ कंकालिनी मन्दिर, महोत्तरीको ऐतिहासिक जलेश्वरनाथ महादेव मन्दिर तथा धनुषास्थित विश्वप्रसिद्ध राम जानकी मन्दिरमा विधिपूर्वक पूजा–अर्चना गरेका थिए। उनीहरूले परिवार तथा समाजको सुख, समृद्धि र शान्तिको कामना गरेका थिए। कतिपय महिलाका लागि यो पहिलोपटक यस्तो धार्मिक भ्रमण भएकोले उनीहरूमा विशेष उत्साह देखिएको थियो।
कार्यक्रमको व्यवस्थापन तथा समन्वयमा फाउन्डेशनकी कोषाध्यक्ष साधना झाको महत्वपूर्ण भूमिका रहेको थियो। यात्राको सम्पूर्ण व्यवस्थापनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गरिएको फाउन्डेशनले जनाएको छ।

धनुषास्थित राम जानकी मन्दिर पुगेका बेला त्यहाँका महन्थ राम रोशन दासले महिलाहरूलाई हार्दिक स्वागत गरेका थिए। उनले श्रद्धालु महिलाहरूलाई साडी उपहार प्रदान गर्नुका साथै जलपानको व्यवस्था समेत गरेका थिए। “मायतीघर आएकी महिलाहरूको सम्मान र सत्कार गर्नु हाम्रो संस्कृतिको पहिचान हो,” उनले भने, “यस्तो सेवा गर्न पाउनु हाम्रो लागि सौभाग्यको विषय हो।”
यात्रामा सहभागी महिलाहरूले यस्तो अवसर उपलब्ध गराएकोमा आभा फाउन्डेशन तथा सहयोगदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्ने बताएका छन्। उनीहरूले धार्मिक यात्राले आफूहरूमा आत्मविश्वास, एकता र नयाँ ऊर्जा थपिएको अनुभव साझा गरेका थिए।