“राजबंशी समाज विकास समितिको विगत, वर्तमान र भविष्य”

Logo
निर्मल कुमार राजवंशी प्रकाशित मंगलबार, आषाढ १६, २०८३

विराटनगर / राजबंशी समुदायको साझा, प्रतिनिधिमूलक तथा छाता संगठनका रूपमा परिचित राजबंशी समाज विकास समिति ले विगत तीन दशकदेखि भाषा, कला, संस्कृति, परम्परा, पहिचान तथा सामाजिक अधिकारको संरक्षण र प्रवर्द्धनका लागि निरन्तर भूमिका निर्वाह गर्दै आएको छ।

यस संस्थाको प्रारम्भिक यात्रा वि.सं. २०५० सालबाट सुरु भएको हो। त्यसबेला फुलसिंह राजवंशीको अध्यक्षतामा राजबंशी भाषा प्रचार–प्रसार समिति नामक संस्था जिल्ला प्रशासन कार्यालय, झापामा दर्ता नं. १४९/०५० अन्तर्गत विधिवत् दर्ता भएको थियो।

पछि वि.सं. २०६३ सालमा पानीलाल राजवंशीको संयोजकत्वमा सम्पन्न विशेष महाधिवेशनबाट संस्थाको विधान संशोधन गरी राजबंशी समाज विकास समिति नामकरण गरिएको हो। उक्त विशेष महाधिवेशनबाट झापा जिल्लाको अग्रसेन भवनको सभाहलमा सर्वसम्मत रूपमा स्व. नगेन्द्र प्रसाद राजबंशीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो।

त्यसपछिका महाधिवेशनहरूबाट क्रमशः विभिन्न नेतृत्व चयन हुँदै आए—

वि.सं. २०६७ – विराटनगरको वीरेन्द्र सभाहलमा सम्पन्न महाधिवेशनबाट स्व. पदम प्रसाद राजवंशीको अध्यक्षतामा समिति गठन भयो।

वि.सं. २०७१ – झापा जिल्लाको बिर्तामोडस्थित अग्रसेन भवनमा सम्पन्न महाधिवेशनबाट **भिमराज चौधरी (राजवंशी)**को अध्यक्षतामा समिति गठन भयो।

वि.सं. २०७५ – मोरङ जिल्लाको श्री शारदा माध्यमिक विद्यालय, कर्सियामा सम्पन्न अधिवेशनबाट दोस्रो कार्यकालका लागि पुनः **भिमराज चौधरी (राजवंशी)**कै अध्यक्षतामा समिति गठन भयो।

वि.सं. २०७९ (असार) – मोरङ जिल्लाको कटहरी गाउँपालिकामा सम्पन्न महाधिवेशनबाट सुवन्त राजवंशीको अध्यक्षतामा समिति गठन भयो।

वि.सं. २०७९ – झापा जिल्लाको बिर्तामोडस्थित सिनेप्लाजामा सम्पन्न विशेष महाधिवेशनबाट अभय राजवंशीको अध्यक्षतामा समिति गठन भयो।

यसरी संस्थाले लामो यात्रा तय गर्दै आउँदा धेरै उपलब्धिहरू हासिल गरेको छ। तर, यस अवधिमा विभिन्न समयमा उत्पन्न भएका मतभेद, विवाद, गुट तथा उपगुटका कारण संगठनले अपेक्षाअनुसार एकताबद्ध रूपमा अघि बढ्न नसकेको यथार्थलाई पनि स्वीकार गर्नुपर्छ। यद्यपि, यस्ता चुनौतीका बीच पनि सम्पूर्ण राजबंशी समाजको चाहना भने एउटै छ—सशक्त, एकताबद्ध र सबैलाई समेट्ने साझा संगठन।

अब वि.सं. २०८३ साल असार २० र २१ गते हुने भनिएको महाधिवेशनप्रति सम्पूर्ण समाजको ध्यान केन्द्रित भएको छ। यस महाधिवेशनबाट अब कसले नेतृत्व गर्नेछन् भन्ने चासो त स्वाभाविक नै छ, तर त्योभन्दा ठूलो प्रश्न भनेको के विभाजित दुई समूह एउटै मञ्चमा उभिएर एकताको महाधिवेशन सम्पन्न गर्नेछन्, वा पुनः छुट्टाछुट्टै महाधिवेशन गरी विभाजनलाई निरन्तरता दिनेछन्?

आज समाज यही उत्तरको प्रतीक्षामा छ।

यो महाधिवेशन केवल नेतृत्व चयन गर्ने कार्यक्रम मात्र होइन, विगतका अनुभवबाट शिक्षा लिने, कमजोरीहरूको आत्मसमीक्षा गर्ने र संगठनलाई नयाँ ऊर्जा तथा नयाँ दिशातर्फ अघि बढाउने अवसर पनि हो। विगतमा भएका कमीकमजोरीलाई स्वीकार गर्दै सुधार गर्नु नै परिपक्व नेतृत्वको परिचय हो।

राजबंशी समाजको भाषा, संस्कृति, इतिहास, पहिचान, शिक्षा तथा सामाजिक अधिकारको संरक्षण कुनै एक व्यक्ति वा समूहको जिम्मेवारी मात्र होइन, सम्पूर्ण समुदायको साझा दायित्व हो। त्यसैले व्यक्तिगत आग्रह, पूर्वाग्रह र स्वार्थभन्दा माथि उठेर समाजको बृहत्तर हितलाई केन्द्रमा राख्दै अघि बढ्नु आजको आवश्यकता हो।

हामी सबैले आफ्ना विगतका गल्ती र कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै, एकअर्काप्रति सम्मान, विश्वास र सहकार्यको भावना विकास गर्न सके मात्र संगठन अझ सुदृढ बन्न सक्छ। यही नै समाजप्रतिको हाम्रो नैतिक दायित्व र कर्तव्य पनि हो।

असार २० र २१ गतेको महाधिवेशनले विभाजन होइन, एकताको सन्देश दिओस्; प्रतिस्पर्धा होइन, सहकार्यको संस्कार स्थापित गरोस्; र सम्पूर्ण राजबंशी समाजलाई एउटै साझा छातामुनि उभ्याउने ऐतिहासिक अवसर बनोस् भन्ने शुभकामना।

एकता नै बल हो।”

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]