सञ्चारकर्मी सञ्चार सहकारीको अध्यक्षमा महाप्रसाद खतिवडा निर्वाचित, दुई विद्यार्थीसहित ६ जना सम्मानित

Logo
भोजराज घिमिरे प्रकाशित शनिबार, कार्तिक १५, २०८३

विराटनगर । पत्रकारहरूद्वारा सञ्चालित सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्षमा महाप्रसाद खतिवडा निर्वाचित भएका छन्। संस्थाको १५औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनबाट खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्ष पदका लागि खतिवडा र धनकुमारी थापाबीच प्रतिस्पर्धा भएको थियो। कुल १०४ मत खसेको निर्वाचनमा खतिवडाले ७३ मत प्राप्त गर्दै विजयी भए भने थापाले ३१ मत प्राप्त गरिन्। निर्वाचन समितिका संयोजक महानन्द सापकोटाले खतिवडाको विजय घोषणा गरेका हुन्।
अधिवेशनबाट सञ्चालक समितिको उपाध्यक्षमा नेत्रप्रसाद अधिकारी, सचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा तारा आचार्य निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी, सञ्चालक समिति सदस्यमा भोजराज घिमिरे, राजेशकुमार राजवंशी, दीपकबहादुर खड्का, पदम सरदार र उषाकुमारी सरदार निर्विरोध निर्वाचित भएका छन्।
लेखा समिति संयोजकमा अभिनाशकुमार निधि तथा सदस्यमा पुष्पराज थपलिया र हरि अधिकारी निर्विरोध निर्वाचित भएका छन्।
दुई विद्यार्थीसहित ६ जना सम्मानित
यसैबीच, संस्थाको साधारणसभाको अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने दुई विद्यार्थीसहित विभिन्न विधाका ६ जनालाई सम्मान गरिएको छ।
एसईई २०८२ मा ३.८४ जीपीए प्राप्त गर्ने शेयर सदस्य टेकप्रसाद अधिकारीका छोरा मुलुक शर्मा र कक्षा १२ मा ३.२८ जीपीए प्राप्त गर्ने शेयर सदस्य विक्रम लुइँटेलकी छोरी सुबिसा लुइँटेललाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।
त्यसैगरी, विद्यावारिधि हासिल गरेका शेयर सदस्य डा. रामचन्द्र अधिकारी, उत्कृष्ट बचतकर्ता रोशन पोखरेल, असल ऋणी प्रदीप भुजेल र अग्रज शेयर सदस्य तेजेन्द्रबहादुर भण्डारीलाई पनि सम्मान गरिएको छ।
सम्मानित सबैलाई साधारणसभाका प्रमुख अतिथि तथा संस्थाका ज्येष्ठ शेयर सदस्य शिवबहादुर कार्कीले सम्मान गरेका थिए।
संस्थाले शेयर सदस्यका सन्तानलाई शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्न प्रोत्साहित गर्ने उद्देश्यले २०८२ सालदेखि नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम सुरु गरेको हो। यस कार्यक्रमले सहकारीमा आबद्ध सदस्यका परिवारका विद्यार्थीलाई अध्ययनमा थप प्रेरणा प्रदान गर्ने विश्वास संस्थाले लिएको छ।
पत्रकारहरू आबद्ध भई सञ्चालन हुँदै आएको सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले बचत तथा ऋण कारोबारसँगै सदस्यहरूको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा समेत योगदान पुर्‍याउँदै आएको छ।
नयाँ नेतृत्व चयनसँगै संस्थाको संस्थागत विकास, सदस्यको हित प्रवर्द्धन तथा सहकारीका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]