विराटनगर–८ मा भान्सा सुरक्षा तथा अग्नि नियन्त्रणसम्बन्धी अभिमुखीकरण

Logo
भोजराज घिमिरे प्रकाशित शनिबार, कार्तिक १५, २०८३

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ को आर्थिक सहयोग तथा अम्बे मुरारी सेवा केन्द्रको आयोजनामा भान्सा कोठाको सुरक्षा मापदण्ड तथा अग्नि नियन्त्रणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
भान्सा कोठामा खाना पकाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटना तथा आगलागीका घटनालाई न्यूनीकरण गर्ने, सुरक्षित रूपमा ग्यास चुलो प्रयोग गर्ने तरिकाबारे जानकारी गराउने तथा आगलागीबाट बच्ने उपायबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर ८ का ३० देखि ४५ वर्ष उमेर समूहका ३५ जना महिलाको सहभागिता रहेको थियो। सहभागीहरूलाई भान्सामा ग्यास चुलो प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, ग्यास चुहावट पहिचान गर्ने तरिका, आगलागी हुन सक्ने जोखिम तथा आगलागी भइहालेमा तत्काल अपनाउनुपर्ने प्राथमिक नियन्त्रणका उपायबारे व्यावहारिक जानकारी दिइएको थियो।
कार्यक्रममा प्रशिक्षक रामकुमार दाहालले भान्सा कोठामा हुन सक्ने जोखिम, ग्यास सिलिन्डरको सुरक्षित प्रयोग, आगलागी नियन्त्रणका आधारभूत उपाय तथा घरपरिवारलाई सुरक्षित राख्न अपनाउनुपर्ने सावधानीका विषयमा प्रशिक्षण दिएका थिए।
अम्बे मुरारी सेवा केन्द्रकी अध्यक्ष भारती पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष राम पोखरेलले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रममा संस्थाकी अध्यक्ष भारती पोखरेलले भान्सा घरको अत्यन्त संवेदनशील तथा जोखिमपूर्ण स्थान भएकाले यसमा अपनाइने सामान्य लापरवाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने बताइन्।
उनले भनिन्, “हाम्रो दैनिक जीवनमा भान्सा अत्यन्त महत्वपूर्ण स्थान हो। खाना पकाउने क्रममा ग्यास चुलो, सिलिन्डर तथा अन्य विद्युतीय उपकरणको प्रयोग गर्दा सामान्य सावधानी नअपनाउँदा पनि आगलागी तथा अन्य दुर्घटना हुन सक्छन्। यस्ता दुर्घटना हुन नदिन आवश्यक सुरक्षा मापदण्डबारे प्रत्येक घरपरिवारलाई जानकारी हुनु जरुरी छ।”
अध्यक्ष पोखरेलले महिलाहरू घरको भान्सा व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न हुने भएकाले उनीहरूलाई सुरक्षा तथा अग्नि नियन्त्रणसम्बन्धी ज्ञान र सीप प्रदान गर्नु अझ महत्वपूर्ण रहेको बताइन्। यस्ता कार्यक्रमले महिलाहरूलाई सम्भावित जोखिमको पहिचान गर्न, दुर्घटना हुनुअघि नै सावधानी अपनाउन तथा आपत्कालीन अवस्थामा सही निर्णय लिन सक्षम बनाउने उनको भनाइ थियो।
उनले आगामी दिनमा पनि समुदायको आवश्यकता पहिचान गरी महिलाको क्षमता अभिवृद्धि, जनचेतना तथा सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रमले सहभागी महिलाहरूमा भान्सा कोठाको सुरक्षा, ग्यास चुलोको सुरक्षित प्रयोग तथा आगलागी नियन्त्रणसम्बन्धी आधारभूत ज्ञान र सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]