विराटनगर । उद्योग संगठन मोरङले विराटनगरमा नवौँ संस्करणको विराट एक्स्पो २०२६ आयोजना गर्ने तयारी सुरु गरेको छ। यसपटकको एक्स्पोलाई वस्तु तथा सेवाको प्रदर्शनीमा मात्र सीमित नराखी लगानी, रोजगारी, उद्यमशीलता, सीप विकास र व्यावसायिक साझेदारीको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य आयोजकले लिएको छ।
उद्योग संगठन मोरङले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसको मैदानमा एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिएको हो। संगठनले यसअघि आठवटा संस्करणको विराट एक्स्पो सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
यसपटक उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उपाध्यक्ष विपिन काबरालाई एक्स्पो संयोजकको जिम्मेवारी दिएका छन्। युवालाई सक्षम बनाउँदै नेतृत्व हस्तान्तरण गर्ने उद्देश्यले काबरालाई संयोजकको जिम्मेवारी सुम्पिएको अध्यक्ष राठीले बताए।
अध्यक्ष राठीले प्रत्येक संस्करणलाई नयाँ अवधारणा र फरक स्वरूपमा आयोजना गर्दै आएको उल्लेख गर्दै यसपटक एक्स्पोलाई अवसर, सम्भावना र सहकार्यको साझा थलोका रूपमा विकास गर्न खोजिएको बताए।
एक्स्पोको मूल नारा ‘द इकोसिस्टम अफ अपरच्युनिटिज’ अर्थात् ‘अवसरहरूको पारिस्थितिक प्रणाली’ राखिएको छ। उद्योगी, व्यवसायी, विद्यार्थी, किसान, युवा तथा लगानीकर्तालाई एउटै स्थानमा जोडेर ज्ञान, सीप, प्रविधि, लगानी र बजारका सम्भावनाबारे जानकारी आदानप्रदान गर्ने वातावरण निर्माण गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको राठीले बताए।
‘उद्योगलाई आज बजार मात्रै चाहिएको छैन, दक्ष जनशक्ति, स्टार्टअपलाई लगानी, युवालाई अवसर, विद्यार्थीलाई करियरको मार्ग र लगानीकर्तालाई सम्भावना चाहिएको छ,’ अध्यक्ष राठीले भने, ‘त्यसैले एक्स्पोलाई यी सबै पक्ष जोड्ने साझा थलोका रूपमा विकास गर्न खोजेका छौँ।’
१० अवसर क्षेत्र र छवटा एकीकृत प्लेटफर्म
एक्स्पोका संयोजक विपिन काबराका अनुसार यसपटक १० वटा अवसर क्षेत्र र छवटा एकीकृत प्लेटफर्ममार्फत विभिन्न गतिविधि सञ्चालन गरिनेछ। विद्यार्थी तथा युवालाई करियर मार्गदर्शन, स्थानीय उद्योगको जानकारी, रोजगारी र सीप विकासका अवसरसँग जोड्ने उद्देश्यले ‘लर्न फर द फ्युचर’ कार्यक्रम सञ्चालन गरिनेछ।
यसअन्तर्गत औद्योगिक स्वचालन, फेसन डिजाइन, कृषि, आतिथ्य सेवा, सौन्दर्य तथा स्वास्थ्य र वेलनेस लगायतका आठ क्षेत्रमा सीप तथा तालिमसम्बन्धी विशेष कार्यक्रम राखिनेछ। विद्यार्थीलाई भविष्यमा रोज्न सकिने पेसा, आवश्यक सीप र उद्योगमा उपलब्ध अवसरबारे जानकारी गराउने कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
नयाँ सोच, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्न ‘स्टार्टअप एन्ड इन्टरप्रेनरसिप प्याभिलियन’ सञ्चालन गरिनेछ। यसमा मेकर स्पेस, डिजाइन थिंकिङ, बुट क्याम्प तथा नयाँ र वृद्धि उन्मुख उद्यमहरूको प्रदर्शनी रहनेछ।
त्यस्तै, उद्योग तथा व्यवसायलाई आवश्यक पर्ने दर्ता, कानुनी परामर्श, ब्रान्डिङ, प्याकेजिङ, गुणस्तर परीक्षण, प्रमाणीकरण, लजिस्टिक्स तथा बजार पहुँचसम्बन्धी सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘बिजनेस डेभलपमेन्ट सर्भिसेज कनेक्ट’ प्लेटफर्म सञ्चालन गरिनेछ।
विराट बिजनेस समिट २०२६ मुख्य आकर्षण
एक्स्पोको अर्को मुख्य आकर्षण ‘विराट बिजनेस समिट २०२६–अपरच्युनिटी कनेक्ट’ हुनेछ। तीन दिनसम्म सञ्चालन हुने समिटमा देशभरका उद्योगी, व्यवसायी, लगानीकर्ता, नीतिनिर्माता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।
समिटमा ‘इन्भेस्ट एन्ड बिल्ड’, ‘कनेक्ट एन्ड एक्सपान्ड’ तथा ‘इन्फ्लुएन्स एन्ड ग्रो’ विषयमा छलफल तथा व्यावसायिक अन्तरक्रिया गरिने संयोजक काबराले जानकारी दिए।
कोशी प्रदेशका १४ वटै जिल्लाका उद्योग वाणिज्य संघका प्रतिनिधिले आ–आफ्नो क्षेत्रको आर्थिक तथा व्यावसायिक सम्भावना प्रस्तुत गर्नेछन्। यसका साथै नेपाल–भारत तथा नेपाल–बंगलादेश बिजनेस फोरम, व्यवसायीबीच प्रत्यक्ष भेटघाट तथा व्यावसायिक छलफल (बीटुबी मिटिङ), विषयगत छलफल र जिल्लागत अवसरको प्रस्तुतीकरणसमेत आयोजना गरिनेछ।
समिटमार्फत स्थानीय तथा प्रदेशस्तरमा रहेका लगानीका सम्भावना उजागर गर्दै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने लक्ष्य राखिएको छ।
‘अपरच्युनिटी वाल’ मा लगानीका सम्भावना
यसपटक एक्स्पोमा ‘अपरच्युनिटी वाल’ पनि विशेष आकर्षणका रूपमा रहनेछ। उक्त प्रदर्शनीमा कोशी प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय सरकारका लगानीका सम्भावना, स्थानीय उत्पादन, पूर्वाधार, उद्योग व्यवसायका लागि आवश्यक कच्चा पदार्थ, प्रविधि, बजार र साझेदारीका अवसरबारे जानकारी प्रस्तुत गरिने आयोजकले जनाएको छ।
यसले विभिन्न जिल्लामा उपलब्ध स्रोत, सम्भावना र लगानीका क्षेत्र पहिचान गर्न उद्योगी तथा व्यवसायीलाई सहयोग पुग्ने विश्वास गरिएको छ।
२७५ भन्दा बढी स्टल, तीन लाखको लक्ष्य
एक्स्पोमा उद्योग, कर्पोरेट, कृषि, साना तथा घरेलु उद्योग, अटोमोबाइल, खाद्य सामग्री तथा तालिम प्रदायक संस्थाका गरी २७५ भन्दा बढी स्टल रहनेछन्। तीन सयभन्दा बढी उद्योगी तथा व्यापारिक प्रतिष्ठानको सहभागिता गराउने लक्ष्य आयोजकले लिएको छ।
कोशी प्रदेशका १४ वटै जिल्लाका कृषि, महिला तथा साना उद्यमीका उत्पादनलाई प्राथमिकता दिइनेछ। त्यसैगरी सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा उत्पादित वस्तु तथा सेवाको प्रदर्शनीलाई विशेष महत्त्व दिइने आयोजकले जनाएको छ।
एक्स्पो अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुतिसमेत रहनेछन्। यसले व्यापारिक गतिविधिसँगै मनोरञ्जन र सांस्कृतिक कार्यक्रममार्फत सर्वसाधारणको सहभागिता बढाउने अपेक्षा गरिएको छ।
दुई हजार युवालाई रोजगारीसँग जोड्ने लक्ष्य
आयोजकका अनुसार एक्स्पो अवधिभर करिब दुई लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखिएको छ। त्यस्तै, २५ हजार विद्यार्थीलाई सहभागी गराउने, एक हजार पाँच सयभन्दा बढी व्यावसायिक सम्पर्क निर्माण गर्ने र दुई हजार युवालाई रोजगारीका अवसरसँग जोड्ने तयारी गरिएको छ।
एक्स्पोमा लगानीकर्तासमक्ष लगानीयोग्य २० वटा स्टार्टअप तथा उद्यमशील परियोजना प्रस्तुत गरिनेछ। नयाँ उद्यम स्थापना गर्न चाहने युवा, नवप्रवर्तनकर्ता तथा उद्यमीलाई लगानी र व्यावसायिक साझेदारीको अवसर उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको संयोजक काबराले बताए।
उनका अनुसार एक्स्पोले उद्योगी तथा व्यवसायीलाई नयाँ बजार र साझेदार खोज्न, युवालाई रोजगारी तथा सीप विकासका अवसर प्राप्त गर्न र लगानीकर्तालाई नयाँ परियोजनामा लगानी गर्ने सम्भावना पहिचान गर्न सहयोग पुर्याउनेछ।
यसपटकको विराट एक्स्पो केवल वस्तु तथा सेवाको प्रदर्शनी नभई उद्योग, व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, सीप र व्यावसायिक साझेदारी विस्तारको साझा मञ्चका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ।
