पथरी शनिश्चरे, कार्तिक ३०। मोरङको पथरीशनिश्चरेमा आयोजित ‘सुशिला कन्दङ्वा स्मृति तेस्रो पथरीशनिश्चरे रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८३’ मा लोकसागर साम्बा दोस्रो पटक नगर च्याम्पियन बनेका छन्। महिलातर्फ सेम्रिल राई च्याम्पियन बनेकी छन्।
बुद्धिचाल सङ्घ पथरीशनिश्चरे नगर समितिको आयोजनामा पथरीस्थित एभरेष्ट बोर्डिङ स्कुलमा सम्पन्न प्रतियोगितामा साम्बाले उत्कृष्ट प्रदर्शन गर्दै ८ खेलमा शतप्रतिशत ८ अंक प्राप्त गरी उपाधि जितेका हुन्। फाइनलमा उनले पुकार राईलाई पराजित गरेका थिए। साम्बा गत वर्ष पनि नगर च्याम्पियन बनेका थिए।
प्रतियोगितामा ६ अंक प्राप्त गरेका पुकार राई दोस्रो तथा समान ६ अंकसहित अनिश तामाङ तेस्रो भए। आरबिटर डम्बर बाछना राईका अनुसार प्रतियोगितामा खेलाडीहरूले उत्कृष्ट प्रतिस्पर्धा गरेका थिए।
महिला विधातर्फ एभरेष्ट बोर्डिङ स्कुलकी कक्षा ८ मा अध्ययनरत सेम्रिल राई अपराजित रहँदै चार अंकसहित च्याम्पियन बनिन्। महिला च्याम्पियन छनोटका लागि उत्कृष्ट पाँच खेलाडीबीच १० मिनेटका चार चरणका थप खेल सञ्चालन गरिएको थियो। यस विधामा समिरा राई दोस्रो, कृष्टि राई तेस्रो, हेन्खाम्मा राई चौथो र करुणा राई पाँचौँ भए।त्यसैगरी १६ वर्षमुनिको उमेर समूहमा सिद्धान्त कन्दङ्वा च्याम्पियन बने। एभरेष्ट बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत कन्दङ्वाले चार खेलमा ३.५ अंक प्राप्त गर्दै उपाधि जितेका हुन्। यस विधामा रिदम राई दोस्रो, दिप्सन अधिकारी तेस्रो, अञ्जल थापा चौथो र रोहन विक पाँचौँ भए।
नगर च्याम्पियन साम्बाले नगद १० हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे। दोस्रो भएका पुकारले पाँच हजार र तेस्रो भएका अनिशले तीन हजार रुपैयाँसहित पुरस्कार पाए।
महिला तथा १६ वर्षमुनिका दुवै विधाका विजेताले पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। दोस्रोदेखि पाँचौँ स्थानसम्मका खेलाडीलाई क्रमशः पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि चण्डीप्रसाद राईले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा एभरेष्ट बोर्डिङ स्कुलका सञ्चालक रविन कन्दङ्वा र दिनेश कन्दङ्वा, फ्रेन्डसिप चेस क्लबका अध्यक्ष अमिर राई तथा पञ्चायत माध्यमिक विद्यालयका खेल शिक्षक नरेश राईलगायतको उपस्थिति थियो।
बुद्धिचाल सङ्घ पथरीशनिश्चरे नगर समितिका उपाध्यक्ष तुलसी भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव पुकार राईले गरेका थिए।
प्रतियोगितालाई पथरीशनिश्चरे–१ मा स्थापित एभरेष्ट स्कुलका सञ्चालक रविन कन्दङ्वा र दिनेश कन्दङ्वाले प्रायोजन गरेका थिए। स्वर्गीय सुशिला कन्दङ्वा एभरेष्ट बोर्डिङ स्कुलका संस्थापक चन्द्रमान कन्दङ्वाकी धर्मपत्नी हुन्।यसअघि प्रतियोगिताको उद्घाटन शुक्रबार (कार्तिक २७ गते) पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापोले गरेका थिए। चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ६० जना खेलाडीको सहभागिता रहेको थियो।
