कोशीका निर्माण व्यवसायी जुटे अधिवेशनमा, नयाँ नेतृत्व चयन गरिँदै

Logo
भोजराज घिमिरे प्रकाशित शनिबार, मंसिर ०६, २०८३

निर्माण व्यवसायलाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड, कोशी प्रदेश निर्माण व्यवसायी महासंघको अधिवेशन सुरु
विराटनगर, मङ्सिर ४ । निर्माण व्यवसायलाई परम्परागत पेसाका रूपमा मात्र सीमित नराखी उद्योगका रूपमा विकास गर्दै भविष्यको सम्पत्तिका रूपमा स्थापित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
निर्माण व्यवसायी महासंघ कोशी प्रदेश, विराटनगरको १६औँ वार्षिक साधारणसभा तथा ९औँ अधिवेशन बिहीबारदेखि विराटनगरमा सुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले गरेका हुन् ।
कोशी प्रदेश अध्यक्ष जनसेवक भण्डारीको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष मुकेश पन्तलगायत केन्द्रीय तथा प्रदेश तहका निर्माण व्यवसायीहरूको उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण व्यवसायलाई पुस्तान्तरण हुने सामान्य पेसाका रूपमा मात्र नहेरी व्यवस्थित उद्योगका रूपमा विकास गर्नुपर्ने बताए । निर्माण व्यवसायलाई भविष्यको सम्पत्तिका रूपमा स्थापित गर्न नेतृत्व, व्यवसायी र राज्यबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।समय सबैका लागि बराबर हुने उल्लेख गर्दै अध्यक्ष पाण्डेले भाषणभन्दा कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । नेतृत्वले प्रदेश र जिल्लामा रहेका निर्माण व्यवसायीका समस्या, गुनासा तथा सुझाव सुन्ने र समाधानका लागि पहल गर्ने अभ्यासलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
नयाँ सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनपछि उपलब्ध हुने २० प्रतिशत पेस्की रकमको सही सदुपयोग गर्नुपर्नेमा जोड दिँदै पाण्डेले उक्त रकम व्यक्तिगत वा अन्य प्रयोजनमा खर्च गर्न नहुने स्पष्ट पारे । पेस्की रकमलाई निर्माण कार्यमै परिचालन गर्न सके बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यता घट्ने र आयोजनाको काम प्रभावकारी रूपमा अघि बढाउन सकिने उनको भनाइ थियो ।
उनले आगामी दिनमा काठमाडौंमा आयोजना हुने पूर्वाधार लगानी सम्मेलनमार्फत ठूला पूर्वाधार आयोजनामा निजी तथा विदेशी लगानी भित्र्याउने तयारी भइरहेको जानकारी दिए । यसका लागि करिब ६० वटा कानुन संशोधन गर्ने मस्यौदा तयार भइरहेको उल्लेख गर्दै उनले प्रस्तावित कानुनी संशोधनले निर्माण क्षेत्रका विद्यमान समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
विशेषगरी वन क्षेत्रको स्वीकृति, जग्गा प्राप्ति तथा नदीजन्य र खानीजन्य निर्माण सामग्रीको सहज उपलब्धतासँग सम्बन्धित कानुनी जटिलता हटाउन प्रस्तावित संशोधन महत्त्वपूर्ण हुने उनले बताए । निर्माण व्यवसायीले भोग्दै आएका नीतिगत तथा प्रक्रियागत समस्या समाधान भए पूर्वाधार विकासले गति लिने उनको विश्वास थियो ।कार्यक्रमका सभाध्यक्ष तथा निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष जनसेवक भण्डारीले निर्माण व्यवसायीले सहज र निर्वाध रूपमा काम गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए । निर्माणसम्बन्धी कानुन समयसापेक्ष, स्पष्ट र व्यावहारिक हुनुपर्ने उल्लेख गर्दै उनले जटिल तथा एकआपसमा बाझिने कानुनी व्यवस्थाका कारण व्यवसायीले विभिन्न समस्या भोग्नुपरेको बताए ।
निर्माण क्षेत्रमा काम गर्ने व्यवसायीले प्राविधिक, कानुनी तथा प्रशासनिक झन्झट बेहोर्नुपरेको भन्दै अध्यक्ष भण्डारीले निर्माण कार्यलाई सहज बनाउने खालका नीतिगत व्यवस्था आवश्यक रहेको धारणा राखे । व्यवसायीका समस्या पहिचान गरी समाधानका लागि प्रदेश समितिले सम्बन्धित निकायसँग समन्वय र पहल गर्दै आएको पनि उनले बताए ।
यसैबीच, नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष मुकेश पन्तले कोशी प्रदेश समितिले निर्माण क्षेत्रका कानुनी तथा प्राविधिक समस्या समाधान गर्ने उद्देश्यले कानुन र प्राविधिक क्षेत्रका एक–एक जना विज्ञलाई सल्लाहकार नियुक्त गरेको कदमको प्रशंसा गरेका छन् ।
उनीहरूले निर्माण व्यवसायीले भोगिरहेका व्यावसायिक, प्राविधिक तथा कानुनी समस्या समाधानका लागि विज्ञको सहभागिता गराउने प्रदेश समितिको पहल सराहनीय रहेको बताए । निर्माण क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन यस्ता प्रयासले महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै उनीहरूले महासंघ कोशी प्रदेशको ९औँ अधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको पहिलो दिन उद्घाटन समारोहसँगै निर्माण क्षेत्रका समसामयिक समस्या, व्यवसायीले भोग्नुपरेका चुनौती, कानुनी जटिलता तथा संगठनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
अधिवेशनको दोस्रो दिन संगठनात्मक प्रतिवेदन तथा भावी कार्ययोजनामाथि छलफल हुनुका साथै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने महासंघले जनाएको छ । अधिवेशनले कोशी प्रदेशको निर्माण व्यवसाय क्षेत्रका समस्या समाधान, संगठनात्मक सुदृढीकरण र आगामी नेतृत्वको कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]