जिरिखिम्तीका ३०५ परिवारलाई निःशुल्क शेयर दिने अलाइन्स एग्रो टुरिजमको घोषणा
तेस्रो वार्षिक साधारणसभा सम्पन्न, एक अर्बको लक्ष्यसहित तीन अर्ब लगानी जुटाउने योजना
पथरी शनिश्चरे, मङ्सिर ७ गते । मोरङको पथरीशनिश्चरे नगरपालिका–१०, जिरिखिम्तीमा स्थापित अलाइन्स एग्रो टुरिजम एण्ड रिसोर्ट पब्लिक लिमिटेडले स्थानीय बासिन्दालाई निःशुल्क शेयर उपलब्ध गराउने घोषणा गरेको छ।
कम्पनीले जिरिखिम्तीका प्रत्येक परिवारलाई २५ कित्ताका दरले निःशुल्क शेयर दिने भएको हो। कम्पनीका प्रबन्धक डा. देउमान सम्बाहाङ्फेका अनुसार जिरिखिम्तीमा रहेका ३०५ घरपरिवारमध्ये शेयर लिन इच्छुक प्रत्येक परिवारलाई उक्त शेयर उपलब्ध गराइनेछ।
कम्पनीको तेस्रो वार्षिक साधारणसभा शनिबार आफ्नै कार्यालय जिरिखिम्तीमा शेयरधनीलाई सम्मान तथा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको हो। साधारणसभाका अवसरमा गोपाल पोखरेल र गंगादेवी पोखरेललाई कम्पनीले सम्मान गरेको थियो।।।कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य चण्डीप्रसाद राई तथा फोनिजका संघीय उपाध्यक्ष अर्जुन जम्नेलीलगायतले कम्पनीको योजनाको सफलताको शुभकामना व्यक्त गरेका थिए।
साधारणसभामा प्रबन्धक डा. सम्बाहाङ्फेले कम्पनीको वर्तमान अवस्था र भावी योजनाबारे जानकारी गराएका थिए। उनका अनुसार कम्पनीले मुख्य सडकसँग जोडिएको आफ्नै आठ कट्ठा जग्गामा विद्युतीय सवारीसाधन चार्जिङ केन्द्र र रेस्टुरेन्ट सञ्चालनमा ल्याइसकेको छ। त्यस्तै, माछापोखरी र कफी हाउस निर्माणाधीन अवस्थामा छन्।
कम्पनीले आगामी दिनमा थप १० बिघा जग्गा खरिद गरी क्यासिनोसहितको तारे होटल, कृषि अनुसन्धान केन्द्र र व्यापारिक परिसर निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। उक्त योजनामार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य कम्पनीले राखेको छ।
कम्पनीको तत्कालीन लक्ष्य एक अर्ब रुपैयाँको रहेको छ। हाल २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले आफ्ना योजनालाई सफल बनाउन तीन अर्ब रुपैयाँसम्म लगानी जुटाउने लक्ष्य लिएको प्रबन्धक डा. सम्बाहाङ्फेले बताए। हाल कम्पनीमा २९ जना शेयर सदस्य रहेका छन्।।।२०८० चैत ८ गते कम्पनी ऐनअनुसार निजी कम्पनीका रूपमा दर्ता भएको अलाइन्स एग्रो टुरिजम एण्ड रिसोर्ट २०८३ साउन ४ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो।
हाल निर्माण तथा पूर्वाधार विकासको चरणमा रहेको कम्पनीले स्थानीय बासिन्दालाई समेत शेयरधनी बनाएर पर्यटन, कृषि र व्यावसायिक विकासमा समुदायको सहभागिता बढाउने लक्ष्य राखेको जनाएको छ।
