गाईजात्रा पर्व विभिन्न कार्यक्रमसहित आजदेखि आरम्भ

Logo
सरिता कर्मकार प्रकाशित मंगलबार, भाद्र ०४, २०८१

विराटनगर/परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आरम्भ गरिँदैछ। यस पर्वको सुरुवात हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाउने गरिन्छ। गाईजात्राको प्रमुख उद्देश्य दिवङ्गत आफन्तजनको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउनु हो।

 

धार्मिक विश्वास अनुसार, यसरी गाई वा गाईका रूपमा मानिसलाई नगर परिक्रमा गराउँदा मृत व्यक्तिले गाईको पुच्छर समाई वैतरणी नदी पार गर्नेछन् भन्ने मान्यता छ। नगर परिक्रमा गर्दै श्रद्धालुले दिवङ्गत व्यक्तिहरूको आत्माको शान्तिका लागि दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न, र द्रव्य दान गर्ने परम्परा छ।

 

यो पर्व राजा प्रताप मल्लले पुत्रशोकमा रहेको आफ्नी रानीलाई संसारको दुःख देखाउन आदेश दिएका आधारमा सुरु भएको ऐतिहासिक तथ्य छ। राजा प्रताप मल्लले रानीको मन शान्त गराउन जनतासँग आ–आफ्ना दिवङ्गत आफन्तजनको सम्झनामा गाईजात्रा निकाल्न आज्ञा दिएका थिए। रानीको मन शान्त नभएपछि, विभिन्न प्रहसन र व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने आदेश दिए। यसै कारण गाईजात्रामा हास्यव्यङ्ग्यको प्रचलन आरम्भ भएको मानिन्छ।

 

गाईजात्रा पर्व विशेषगरी काठमाडौँ उपत्यकामा धुमधामका साथ मनाइन्छ। यस पर्वको अवसरमा विभिन्न प्रहसन, नाचगान, र रामायणको करुण रसका गीतहरू गाइन्छन्। समाजमा व्याप्त विकृति र विसङ्गतिको विरोधमा हास्यव्यङ्ग्य प्रस्तुत गरिन्छ।

 

पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको आरोपमा विसं २०१७ पुस १ गते गाईजात्रामा प्रतिबन्ध लागेको थियो। तर, विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले झाँकी र हास्यव्यङ्ग्य सहित पुनः गाईजात्रा महोत्सवको आयोजना गर्न थालेको हो।

 

आजको गाईजात्रा पर्व काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, दोलखा, खोटाङ, इलाम, धरान, विराटनगर, हेटौँडा र पोखरालगायतका नेवार समुदायको विशेष उपस्थिति रहेका शहरहरूमा पनि उल्लासमय तरिकाले मनाइन्छ। यस अवसरमा हास्य कलाकारहरूले विशेष कार्यक्रम आयोजना गर्ने गरेका छन्।

 

सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]