

विराटनगर /विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको कविता प्रतियोगितामा मानसी पोखरेल प्रथम भएकी छन् । विश्व आणविक परीक्षणविरुद्धको दिवसका अवसरमा ‘शान्तिका लागि निःशस्त्रीकरण’ शीर्षकमा आयोजित प्रतियोगितामा ८० जना प्रतिस्पर्धीलाई पछि पार्दै मानसी प्रथम भएकी हुन् । कलेजको सभाहलमा भएको कविता प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरूले कविता वाचन गरेका थिए ।
संयुक्त राष्ट्रसंघको पहलमा सन् २०१० देखि अगष्ट २९ तारिखलाई आणविक हतियारविरुद्ध दिवसका रुपमा मनाउन थालिएको हो । विश्वमा बढ्दै गएको आणविक हतियारको होडबाजीले मानव सभ्यतामाथि नै चुनौती थपिएको भन्दै कलेजले विद्यार्थी र अभिभावकमा दिवसको महत्व र उद्देश्यबारे जानकारी दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए । कलेजका २५ सय विद्यार्थीहरूमध्येबाट पहिलो चरणको छनोटबाट ८० जनालाई कविता प्रतियोगितामा सहभागी गराइएको थियो ।
साहित्यकार चूडाामणि नेपाल ‘अकिञ्चन’, कवि एवं पत्रकार मीनकुमार नवोदित र डा. कमलकिशोर श्रीवास्तवले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । तीनजनाको निर्णायक समितिले पुरस्कृतहरूको नामावली सार्वजनिक गरेको थियो । कक्षा ११ विज्ञान संकायकी छात्रा मानसी प्रथम हुँदा इशान पौडेल, सिरिन भट्टराई र प्रतीक भट्टराई द्वितीय भए । त्यस्तै सभ्यता रायमाझी, रितिक्षा भट्टराई, अपेक्षा राई र साम्राज्ञी बस्नेत तृतीय हुँदा अफ्रिन खातुन, अमित पटेल, रोशनकुमार मण्डल, रमण मण्डल, मर्यादा भट्ट, प्रगति अधिकारी, सशन दाहाल र समीर साहले सान्त्वना पुरस्कार प्राप्त गरे ।
कार्यक्रममा बोल्दै प्रतियोगिताका निर्णायक साहित्यकार मीनकुमार नवोदितले विद्यार्थीहरूले पठनपाठनका अलाबा सिर्जनात्मक बनेर अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपर्ने बताए । ‘विद्यार्थीले सिर्जनशील बनेर सधैंभरि अगाडि सर्न जरुरी छ,’ उनले भने, ‘साहित्यतिर इच्छा जताउनु र सिर्जनशील बन्नु भनेको अमर पेशा अँगाल्नु हो ।’ पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापमा पनि अगाडि बढ्न उनले आग्रह गरे । यसैगरी कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले कविताका माध्यमबाट आफ्ना भावनाहरू पोख्न मिल्ने भएकाले पनि थकाहट हटाएर आनन्दपन ल्याउन प्रतियोगिताको आयोजना गरेको सुनाए । उनले कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिँदै आएको दाबी गरे । शिक्षादीप कलेज हरेक क्षेत्रमा अगाडि रहेको उनको कथन थियो । ‘पहिलो चरणमा साहित्यिक कार्यक्रम गरेका छौं,’ उनले थपे, ‘अब अन्य कार्यक्रम पनि क्रमैसँगै गर्दै जानेछौं ।’
आफू पनि विगतमा कविता लेख्ने गरेको खड्काले सुनाए । ‘कविता सुन्दा यति धेरै आनन्द आउँछ कि आफ्ना थकान मेटिन्छ,’ उनले भने, ‘कवितामार्फत् विद्यार्थीहरूले आफ्नो भावना पोख्न सक्नेछन्, मन शुद्ध बनाउने छन् । धेरै प्रतियोगी भएका कारण सबैलाई सहभागी गराउन सकेनौं । फेरि पनि यस्ता कार्यक्रम गरेर उनीहरूलाई मौका दिनेछौं ।’
प्रतियोगितमाम विजेता विद्यार्थीहरूलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, निर्णायकहरू नवोदित, अकिञ्चन, श्रीवास्तव, कलेजका विज्ञान संकायका संयोजक नवीन रोय, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, कलेजका निर्देशक भूपेन्द्र दाहाल र रामचन्द्र अधिकारीलगायतले अविर लगाएर नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरेका थिए ।