

विराटनगर/मोरङको जहदा गाउँपालिकाले शिक्षा क्षेत्रमा उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै आएको छ। गाउँपालिकामा ३० वटा सामुदायिक विद्यालय, ५ वटा धार्मिक विद्यालय, र ८ वटा मदरसा विद्यालय रहेका छन्। आधारभूत र माध्यमिक शिक्षाको अधिकार स्थानी तहलाई दिइएको छ, र यस अधिकारलाई प्रयोग गर्दै पालिकाले शिक्षा क्षेत्रको विकासका लागि विभिन्न महत्वपूर्ण कार्यहरू गर्दै आएको छ।
शिक्षा शाखा प्रमुख दिपक खनालका अनुसार, पालिकाले भौतिक पूर्वाधार, शैक्षिक व्यवस्थापन, कर्मचारी व्यवस्थापन, र विद्यार्थीको पठनपाठनलाई गुणस्तरीय बनाउन सक्रिय रूपमा कार्यरत छ। गरिब, विपन्न, तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षालाई प्रवर्द्धन गर्न संघीय सरकारले छात्रवृत्तिको व्यवस्था गरेको छ भने, पालिकाले पनि जहदाका स्थायी बसोबास गर्ने विद्यार्थीहरूलाई शैलेजा आचार्य पोलिटिकल इन्स्टिच्युटमा वार्षिक छात्रवृत्तिको व्यवस्था गरेको शिक्षा शाखा प्रमुख दिपक खनालले बताए। यसका लागि पालिकाले वर्षमा १३ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गर्दै आएको छ।
पछिल्लो समय २६ जना विद्यार्थीहरूले छात्रवृत्ति पाएका छन्, जसमा स्टाफ नर्सहरूले १ लाख १२ हजार रुपैयाँसम्मको छात्रवृत्ति प्राप्त गरेका थिए। यस वर्ष पनि २७ जना विद्यार्थीहरूलाई १३ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ। साथै, प्रि-डिप्लोमा तहका लागि ५० प्रतिशत र डिप्लोमा तहका लागि ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ। गरिब, जेहेन्दार, पिछडिएका तथा मुस्लिम समुदायका विद्यार्थीहरूलाई यो सुविधा निरन्तर प्रदान गरिँदै आएको खनालले जानकारी दिए।
ऋषिदेव समुदायका २० वर्षसम्मका विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप पालिकाले छात्रवृत्ति प्रदान गर्दै आएको छ। कक्षा १२ सम्म अध्ययन गर्ने र उच्च शिक्षाका लागि गाउँबाट बाहिर जाने विद्यार्थीहरूलाई साइकल वितरणको योजना पनि चालू रहेको छ। गत वर्षको बजेटबाट ९२ जना विद्यार्थीहरूलाई साइकल वितरण गरिएको थियो।
यस वर्ष गाउँपालिकामा शिक्षा क्षेत्रका लागि २ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। पालिकाले गर्मीको समयमा स्वच्छ खानेपानी, पंखा वितरण, कक्षा कोठा मर्मत, शौचालय सरसफाइ, र फर्निचर व्यवस्थापन लगायतका कार्यहरू खनालले बताए।
साहस नेपाल प्रोजेक्ट र पालिकाको संयुक्त लगानीमा टोल सिकाइ केन्द्रहरू स्थापना गरिएको छ, जसमा १ देखि ५ कक्षाका विद्यार्थीहरूलाई बिहानको समयमा दुई घण्टा पठनपाठन गराइन्छ। यस परियोजनामा २३ वटा केन्द्रहरू सञ्चालनमा छन्, जसले विद्यालय जाने क्रममा पछि परेका विद्यार्थीहरूलाई घरमै गई पढ्ने अवसर प्रदान गर्दै आएको छ।
शिक्षा सुधारका लागि शिक्षकहरूलाई डायरी प्रदान गरिएको छ, र विद्यालयहरूले सचेतना कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएका छन्। शिक्षा क्षेत्रमा पालिकाको यो प्रयासले गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको खनालले जानकारी दिए।