बुवाको मुख हेर्ने पर्व आज: पिताप्रति श्रद्धा र सम्मान प्रकट गर्दै देशभर धार्मिक कार्यक्रम सम्पन्न

Logo
ग्रामीण पत्रिका प्रकाशित सोमबार, भाद्र १७, २०८१

विराटनगर /भाद्र कृष्ण औँशी – आज देशभर बुवाको मुख हेर्ने पर्व धूमधामका साथ मनाइँदैछ। यस पर्वमा छोराछोरीहरूले परम्परागत रूपमा आफ्ना बुवालाई मनपर्ने मिष्ठान्न, मिठाई, तथा भोजन खुवाई आदरभाव प्रकट गर्दै बुवाको मुख हेर्ने चलन रहेको छ। पिताप्रति विशेष सम्मान प्रकट गर्ने यस पर्वले परिवारमा आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिन्छ।

धार्मिक मान्यताअनुसार ‘पितृदेवो भवः’ भन्ने अवधारणाको अनुसरण गर्दै, छोराछोरीहरूले आजका दिन बुवालाई श्रद्धापूर्वक रुचिअनुसारका परिकारहरू खुवाई आशीर्वाद लिने परम्परा छ। यस्तो गर्दा सुख, समृद्धि, र सफलता प्राप्त हुने धार्मिक विश्वास छ।

तर, बुवा नभएका व्यक्तिहरूका लागि आजको दिन अझै विशेष अर्थ राख्छ। उनीहरूले आफ्ना दिवङ्गत पिताको सम्झनामा विभिन्न धार्मिक क्रियाकलापहरू सम्पन्न गर्ने गर्दछन्। देशका विभिन्न पवित्र स्थलहरूमा गई तर्पण, पिण्डदान, तथा श्राद्ध गरेर दिवङ्गत पिताप्रति सम्मान प्रकट गरिन्छ। काठमाडौंको उत्तरपूर्वी भेगमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आजको दिन विशेष मेला लाग्ने गर्दछ, जहाँ हजारौं भक्तजनहरू दिवङ्गत बुवाको आत्माको शान्तिका लागि तर्पण र पिण्डदान गर्न आउने गर्दछन्। यस पर्वलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ।

यस अवसरमा रसुवाको वेत्रावती, देवघाटलगायतका धार्मिक स्थलहरूमा पनि पितृकार्य गर्न भक्तजनहरूको ठूलो भीड लागेको छ। तिनले श्रद्धाभावसाथ आफ्ना दिवङ्गत पिताको आत्माको शान्तिका लागि तर्पण, पिण्डदान र सिदा दान गरे।

आजको दिन पवित्र कुश भित्र्याउने परम्परा पनि रहेको छ। वैदिक सनातन धर्मावलम्बीहरूले घर–घरमा कुशे औँशी पर्व मनाउँदै, वर्षभरि देवकार्य, पितृकार्यलगायतका धार्मिक कार्यमा प्रयोग हुने कुश वैदिक मन्त्रोच्चारणपूर्वक छेदन गरी घरमा राख्ने चलन छ।

यस पर्वले पिताप्रतिको श्रद्धा, आदर, र कृतज्ञतालाई प्रकट गर्दै, समाजमा पारिवारिक सम्बन्धलाई बलियो बनाउने महत्वपूर्ण भूमिका खेलिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]