सुनवर्षी नगरपालिका–२ अमरदह बजारमा सडक निर्माण कार्य शुरू, स्थानीयहरू अझै शंकित

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, भाद्र १९, २०८१

सुनवर्षी / मोरङ जिल्लाको सुनवर्षी नगरपालिका वडा नम्बर २ मा पर्ने अमरदह बजारका बासिन्दाहरूले वर्षौंदेखि भोग्दै आएका सडक समस्यामा अब सुधारको संकेत देखिएको छ। सुनवर्षी नगरपालिकाले स्थानीय जनताको दीर्घकालीन गुनासो सम्बोधन गर्दै बजार क्षेत्रमा पर्ने ९७१ मिटर सडकको कालोपत्रे कार्य सुरु गरेको छ। यस कार्यको लागत १ करोड ३० लाख रुपैयाँ अनुमान गरिएको छ, र दुई निर्माण कम्पनीलाई ठेक्का दिएर निर्माण कार्य अगाडि बढाइएको छ।

हाल सडक निर्माणको प्रारम्भिक चरणमा बेस (सडकको आधार) निर्माण कार्य धमाधम भइरहेको छ। यो कार्य युवा निर्माण सेवा कम्पनीले लिएको छ, जसले असोज मसान्तसम्म बेस निर्माण सक्ने लक्ष्य राखेको छ। कम्पनीले हालको प्रगति हेर्दै भदौ मसान्तसम्म नै बेस निर्माण सम्पन्न गर्ने योजना बनाएको बताएको छ।

सडक बेस निर्माण सम्पन्न भए लगत्तै अर्को निर्माण कम्पनीले एक हप्ता भित्र प्राइम कोड गरी सडक कालो पत्रे गर्ने योजना बनाएको छ। सबै तयारी पूरा भए दशैं अगाडि नै सडक निर्माण कार्य सम्पन्न गरेर स्थानीय जनतामाझ हस्तान्तरण गरिने योजना रहेको छ। यद्यपि, मंसिर मसान्तलाई अन्तिम मितिका रूपमा राखिएको छ।

तर, स्थानीय बासिन्दाहरू भने सडक निर्माण कार्यको बारेमा अझै शंका व्यक्त गरिरहेका छन्। यसअघि पनि दुई पटक सडक कालोपत्रे गर्ने वाचा गरिए पनि कार्य पूरा हुन नसक्दा उनीहरूमा विश्वास घटेको छ। विगतमा झुक्याइएका अनुभवको कारणले यस पटक पनि सडक निर्माण पूरा हुन्छ वा हुँदैन भन्नेमा स्थानीयहरू आशंकित छन्।

सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशीले सडक निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेको र दशैंअघि नै निर्माण कार्य पूरा गर्न लागिपरेको बताए। उनले स्थानीय बासिन्दाहरूलाई नआत्तिन अनुरोध गर्दै यस पटक सडक निर्माणको कार्य अवश्य सम्पन्न हुने आश्वासन दिए।

यो सडक दक्षिण क्षेत्रबाट महेन्द्र राजमार्ग जोड्ने प्रमुख सडक हो। बजार क्षेत्रमा धुलो र धुवाँको कारणले बजार कुरुप देखिने गरेको छ, र बिगत १० वर्षदेखि सडक निर्माण नहुनुका कारण हजारौं सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। सडकको पूर्ण रूपमा निर्माणले मात्र यहाँका बासिन्दाहरूलाई दीर्घकालीन राहत मिल्ने आशा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]