

मेरो नाम मात्र गधा होइन, मान्छेहरूले यो शब्द गालीको लागि प्रयोग गर्छन्। जब उनीहरू कसैलाई मूर्ख, लाटो या अज्ञानी भन्न चाहन्छन्, गधा भनेर सम्बोधन गर्छन्। तर मेरो पीडालाई बुझ्ने कोही छैन। म त्यो प्राणी हुँ, जसले प्रत्येक दिन काँधमा भारी बोक्छु, मुखमा कुनै गुनासो बिना। मैले बोक्ने तौल ढुंगा होस् या कुनै सामान, मेरो शरीरमा बोझ बोक्दै, म गुनगुनाउँछु। मेरो शरीर दुख्छ, खुट्टाहरू चिरिएको हुन्छ, तर मैले कहिल्यै “म थाकें” भन्न पाउँदिन। “आथ्था, ओईया” जस्ता शब्द मेरो जिब्रोमा कहिल्यै आउँदैनन्।
मलाई बाँधिएको छ, मेरा दुबै खुट्टाहरू रस्सीले तानिएका छन्, त्यही रस्सीले मेरो छालामा गहिरो घाउ बनाएको छ। म हिँड्छु, तर सामान्यत: होइन, लङ्गडाउँदै, आफ्नो पीडालाई लुकाउँदै, बिस्तारै अघि बढ्छु। जब मान्छेहरूले मलाई देख्छन्, उनीहरूको अनुहारमा हाँसो आउँछ। उनीहरूलाई मेरो पीडा देखिंदैन, देखिन्छ त केवल मेरो बेढंगको चाल, जो उनीहरूको लागि रमाइलो हुन्छ। मान्छेहरूलाई मेरो दुखाइको कुनै मूल्य छैन, उनीहरूलाई मेरो दु:खको कुनै मतलब छैन।
भोक लागेको बेला, तिर्खा लागेको बेला, म कहाँ जानु?म आफैंले आफ्नो पेट भरौँछु, जहाँ बाटोमा केहि हरियो घाँस भेट्छु, त्यहीँ बसेर चपाउँदै आफ्नो भोक मेटाउँछु। पानीको झरना देख्दा, म त्यहाँसम्म पुग्न दौडन्छु, मेरो घाँटीको सुक्खापन मेटाउन। तर मलाई कसैले सोध्दैन, “तिमी भोकायौ?” या “तिमीलाई तिर्खा लाग्यो?” मैले त केवल आफ्नो आवश्यकताहरू आफैं पुरा गर्नुपर्छ। म चाहन्छु कि कहिल्यै कसैले मलाई नदेखोस्, मेरो नाम लिँदै गाली नगरोस्, तर उनीहरू मलाई हरेकपल गधा भनेर पुकार्छन्।
मान्छेहरूको लागि, म केवल एउटा काम गर्ने प्राणी हुँ। मैले तिनीहरूको भारी बोक्नुपर्ने, तिनीहरूको काम गर्नुपर्ने। तिनीहरूको लागि म कुनै विशेष प्राणी होइन। तिनीहरूको आँखामा म बस एउटा गधा, एउटा भरिया। मेरो पीडाको कुनै गणना छैन, कुनै मूल्य छैन। जब म थाक्दछु, मेरो शरीर चिच्याउँछ तर कसैले सुन्दैन। म गधाको रूपमा जन्मिएँ, गधाको रूपमा बाँच्नु छ, र गधाको रूपमा नै मर्नेछु। मान्छेहरूले मलाई गालीको रूपमा सम्झन्छन्, तर मेरो पीडा तिनले कहिल्यै महसुस गर्दैनन्।
मान्छेहरूलाई म हँसाउने एउटा पात्र जस्तो लाग्छु, तर यो संसारमा मेरो अस्तित्व केवल यो होइन। मसँग पनि भावना छ, मसँग पनि दुखाइ छ, तर मैले कहिल्यै देखाउन पाउँदिन। म गधा हुँ, अनि मेरो कथा यही हो।