

विराटनगर। प्रतिबन्धित लागुऔषध गाँजासहित दुई युवकलाई विराटनगरबाट पक्राउ गरिएको छ। गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापा र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले संयुक्त रूपमा कारमा लोड गरिएको गाँजा सहित ती युवाहरूलाई नियन्त्रणमा लिएको हो।
नेपालबाट भारततर्फ जाँदै गरेको बा ८ च ७८८० नम्बरको कारमा अन्दाजी ४३ किलो गाँजा लुकाएर लैजाने क्रममा विराटनगर–१५ निवासी ३२ वर्षीय गणेश चौधरी र विराटनगर–१३ निवासी २२ वर्षीय राजेश परियारलाई पक्राउ गरिएको हो। मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार, महानगरपालिका–१५ स्थित २ नम्बर ढाटमा उक्त कारलाई जाँच गर्दा पछाडिको सिटमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको थियो।
प्रहरीले पक्राउ परेका युवकहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।