विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण समापन

Logo
ग्रामीण पत्रिका प्रकाशित सोमबार, भाद्र ३१, २०८१

विराटनगर/ ‘साबित्रीको बाख्रो’ नाटक मञ्चनसँगै विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण समापन भएको छ। सोमबार रङ्गेलीको श्री एकता सेकेन्डरी स्कुलले भवानी भिक्षुको कथामा आधारित रमेशचन्द्र अधिकारीद्वारा निर्देशित नाटक मञ्चन गर्दै महोत्सवको समापन गरिएको हो।

आरोहण गुरुकुल विराटनगरको आयोजनामा भएको १०-दिने महोत्सवमा १० वटा नाटक मञ्चन भएका थिए, जसमा आयोजक गुरुकुलसहित नौ विद्यालयले भाग लिएका थिए। महोत्सवमा उत्कृष्ट नाटकको पुरस्कार पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको नाटक ‘एक पटक बोलेको एक रुपैयाँ’ ले जित्यो।

निर्णायकहरू उद्धव सापकोटा र दिपा पोखरेलले आदर्श माध्यमिक विद्यालयको नाटक ‘भविष्य निर्माण’ का निर्देशक प्रनिशा रेग्मीलाई उत्कृष्ट निर्देशक घोषणा गरे। उत्कृष्ट अभिनेता पूर्वाञ्चल स्कुलका सुदेश चौधरी र उत्कृष्ट अभिनेत्री ग्रेडेड इङ्ग्लिस मिडियम सेकेन्डरी स्कुलकी सिमरन सुवेदी घोषित भए।

समापन समारोहमा मोरङ प्याब्सनका अध्यक्ष प्रेमराज सिंह सुवाल र आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले विजेताहरूलाई सम्मानपत्र प्रदान गरेका थिए। महोत्सवको सुरुआत भदौ २२ गते आयोजक गुरुकुलको ‘नीलाम्बरको आकाशयुद्ध’ नाटकबाट भएको थियो।

विद्यार्थीहरूलाई रङ्गमञ्चमा जोड्ने उद्देश्यले गुरुकुलले हरेक वर्ष यो महोत्सव आयोजना गर्दै आएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]