बुढीगंगामा ८ करोड ७६ लाखको प्रशासकीय भवन उद्घाटन, जग्गादाता योगमाया कार्कीको योगदान

Logo
भोजराज घिमिरे प्रकाशित बुधबार, आश्विन २८, २०८३

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–५, हात्तीमुढामा ८ करोड ७६ लाख ४० हजार ६ सय ५३ रुपैयाँको लागतमा निर्माण गरिएको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ। आफ्नै प्रशासकीय भवन सञ्चालनमा आएसँगै गाउँपालिकाको प्रशासनिक कामकाज व्यवस्थित हुनुका साथै नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नवनिर्मित भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले भौतिक पूर्वाधार निर्माणसँगै नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताए। उनले भवन निर्माणलाई मात्र विकासको उपलब्धि मान्न नसकिने उल्लेख गर्दै नागरिकले सरकारी सेवा लिँदा सहजता महसुस गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
गाउँपालिका अध्यक्ष थापा मगरको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा उपाध्यक्ष अमृता कुमारी गच्छदार, प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराई, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, मोरङ प्रहरी प्रमुख कविता कटवाललगायत विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।
जग्गादाता योगमाया कार्कीको योगदान
बुढीगंगा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन निर्माणका लागि स्थानीय योगमाया कार्कीले जग्गा उपलब्ध गराएकी हुन्। गाउँपालिका–५, मोरङ निवासी कार्कीले सार्वजनिक हितका लागि जग्गा प्रदान गरेर गाउँपालिकाको संस्थागत विकास, सार्वजनिक पूर्वाधार निर्माण तथा नागरिकमैत्री सेवा प्रवाहलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएकी छन्।
स्थानीय तहको प्रशासनिक भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनु सार्वजनिक सेवाको विकासमा महत्त्वपूर्ण योगदानका रूपमा लिइएको छ। आफ्नै प्रशासकीय भवन निर्माण र सञ्चालनसँगै गाउँपालिकाको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने बाटो खुलेको छ।
९ कट्ठा २ धुर क्षेत्रफलमा निर्माण गरिएको तीनतले भवनबाट गाउँपालिकाको दैनिक प्रशासनिक कामकाज सञ्चालन हुनेछ। अध्यक्ष थापा मगरले नयाँ भवनले कार्यालयको कार्यसम्पादन सहज बनाउनुका साथै सेवाग्राहीले सेवा लिन भोग्दै आएका झन्झट कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनका अनुसार भवनको शिलान्यास नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गरेका थिए। भवन निर्माणका लागि आवश्यक बजेटमध्ये ६० प्रतिशत डा. कोइरालाको पहलमा र बाँकी ४० प्रतिशत गाउँपालिकाको बजेटबाट व्यवस्थापन गरिएको अध्यक्ष थापा मगरले जानकारी दिए।
‘जनताको आवश्यकता र सुविधालाई केन्द्रमा राखेर काम गर्छौँ’
अध्यक्ष थापा मगरले भौतिक संरचना निर्माण मात्र विकासको पूर्णता नभएको बताउँदै नागरिकको आवश्यकता र सुविधालाई केन्द्रमा राखेर गाउँपालिकाले काम गरिरहेको बताए।
अन्य स्थानीय तहमा फोहोर सङ्कलनबापत मासिक शुल्क लिने व्यवस्था रहेको उल्लेख गर्दै उनले बुढीगंगा गाउँपालिकामा भने वार्षिक ७५ रुपैयाँ मात्रै शुल्क लिने व्यवस्था गरिएको जानकारी दिए। नागरिकलाई रगत आवश्यक पर्दा त्यसको व्यवस्थापनमा समेत गाउँपालिकाले सहयोग गर्दै आएको उनको भनाइ थियो।
‘गाउँपालिका भनेको जनताको आवश्यकता र सुविधालाई केन्द्रमा राखेर काम गर्ने निकाय हो,’ अध्यक्ष थापा मगरले भने, ‘विकास निर्माणसँगै नागरिकले सहज रूपमा सेवा पाउनुपर्छ। गाउँपालिका सधैँ जनताको साथमा रहेर काम गरिरहेको छ।’
उनले विकास निर्माणका योजनालाई अघि बढाउँदा नागरिकको दैनिक जीवनमा पर्ने प्रभावलाई समेत ध्यान दिँदै आएको बताए। भौतिक पूर्वाधार विकाससँगै नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने सेवा तथा सुविधालाई प्राथमिकता दिइएको उनको भनाइ थियो।
सेवा प्रवाहमा सुधार गर्न उपाध्यक्षको जोड
गाउँपालिका उपाध्यक्ष अमृता कुमारी गच्छदारले नयाँ प्रशासकीय भवनले कार्यालयको कामकाज व्यवस्थित बनाउन र नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।♦
भौतिक पूर्वाधारको विकाससँगै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाहमा सुधार गर्नुपर्नेमा जोड दिँदै उनले जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको सहकार्यबाट मात्रै गाउँपालिकाको समग्र विकास सम्भव हुने धारणा व्यक्त गरिन्।
प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराईले नयाँ भवनले कार्यालयको कार्यसम्पादनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बताए। भवनमा उपलब्ध सुविधाको सदुपयोग गर्दै सेवाग्राहीलाई छिटो, सहज, पारदर्शी र प्रभावकारी सेवा उपलब्ध गराउन कर्मचारीहरू जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
उनले नयाँ भवनबाट प्रशासनिक सेवा सञ्चालन हुँदा कार्यालयको कार्य वातावरणमा सुधार हुनुका साथै सेवाग्राहीलाई सेवा लिन सहज हुने अपेक्षा व्यक्त गरे।
निर्माण व्यवसायी र कर्मचारी सम्मानित
भवन निर्माण निर्धारित समयभित्र सम्पन्न गर्न योगदान पुर्‍याएको भन्दै निर्माण व्यवसायी ब्राइट बुल निर्माण सेवा प्रालिका प्रतिनिधि राहुल भण्डारीलाई माला लगाएर प्रमाणपत्रसहित सम्मान गरिएको थियो। गाउँपालिकाको कामकाज तथा सेवा प्रवाहमा योगदान पुर्‍याउने विभिन्न कर्मचारीलाई समेत सम्मान गरिएको थियो।
उद्घाटन समारोहमा सहभागी वक्ताहरूले प्रशासकीय भवन निर्माण हुनु सकारात्मक उपलब्धि भए पनि यसको वास्तविक सफलता नागरिकले प्राप्त गर्ने सेवाको गुणस्तरबाट मापन हुने बताएका थिए। उनीहरूले नयाँ भवनबाट सेवा प्रवाहलाई छिटो, पारदर्शी, सहज र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिए।
गाउँपालिकाको आफ्नै प्रशासकीय भवन सञ्चालनमा आएसँगै सातवटै वडाबाट आउने सेवाग्राहीलाई विभिन्न प्रशासनिक कामका लागि सहज हुने अपेक्षा गरिएको छ। पर्याप्त भौतिक पूर्वाधार उपलब्ध भएपछि कार्यालयको दैनिक कामकाज व्यवस्थित बनाउन र सेवा प्रवाहमा देखिने समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
अब गाउँपालिकाको प्रमुख जिम्मेवारी नवनिर्मित भवनको प्रभावकारी उपयोग गर्दै नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु हो। जग्गादाता योगमाया कार्कीको योगदान र सार्वजनिक स्रोतको लगानीबाट निर्माण भएको यस भवनलाई सुशासन, पारदर्शिता र नागरिकमैत्री सेवाको केन्द्रका रूपमा विकास गर्न सके मात्रै यसको निर्माणले वास्तविक सार्थकता पाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]