

विराटनगर/ विराटनगरको हिमालय रोडमा आयोजना गर्न लागिएको खाना महोत्सवबारे उठेको विवाद अन्ततः समाधान भएको छ। स्थानीय व्यवसायी र मेला आयोजक समिति बीचको केही दिनदेखिको विवाद दुवै पक्षको सहमतिपछि टुंगिएको हो।
मञ्जिना मुभिज क्रिएशनले असोज १७ गतेदेखि २३ गतेसम्म आयोजना गर्ने तयारी गरेको “विराट खाना सडक महोत्सव” लाई लिएर स्थानीय व्यापारीहरूले विरोध जनाएका थिए। उनीहरूको भनाइ थियो कि महोत्सवका कारण व्यवसाय प्रभावित हुने, आवत-जावतमा अवरोध पुग्ने र मासुजन्य परिकारको गन्ध फैलिने समस्या हुने भएकाले मेला अन्यत्र सार्नुपर्छ। यसअघि त्यही स्थानमा गरिएको महोत्सवपछि भएको क्षति र सरसफाइमा ध्यान नदिएको भन्दै उनीहरूले महानगरपालिकालाई ज्ञापनपत्र समेत बुझाएका थिए।
यद्यपि, दुवै पक्षबीच छलफलपछि स्थानीय व्यवसायीहरू महोत्सव आयोजनाका लागि सहमत भएका छन्। मेला आयोजकले यसपटक व्यापारीहरूलाई कुनै असुविधा नहुने प्रतिबद्धता जनाएपछि सहमति जुटेको व्यवसायी गंगाधर मैनालीले जानकारी दिए।
महानगर प्रमुख नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा सहमति भएको हो। आयोजक समितिका अध्यक्ष जतिन ताम्राकारले पनि व्यापारीहरूलाई असर नपर्ने गरी महोत्सव आयोजना गर्ने बताउँदै २५ वटा पारम्परिक खानाका स्टलहरू राखिने जानकारी गराए।
महोत्सवमा विभिन्न समुदायका परिकारका साथसाथै दैनिक सांगीतिक कार्यक्रमहरू पनि हुने आयोजकले जनाएका छन्।