

विराटनगर/विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले ३ अर्बको लगानीमा अत्याधुनिक क्यान्सर उपचार सेवा विस्तार गरेको छ। बेग्लै भवन निर्माण गरी अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरूको व्यवस्थापनसहित अस्पतालले क्यान्सरको सम्पूर्ण उपचार सेवा प्रदान गर्न सुरु गरेको हो।
मङ्गलबार नोबेल अस्पतालका संचालक डा. सुनिल शर्माका पिता लोकनाथ र माता होमा देवी न्यौपानेले नयाँ भवनको औपचारिक उद्घाटन गरेपछि सेवा सुरु भएको हो। यसअघि पनि क्यान्सरको उपचार गर्दै आएको नोबेल अस्पतालले अब थप व्यवस्थित र प्रविधियुक्त सेवा प्रदान गर्न थालेको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिइन्।
अस्पतालले बंकरसहितको भवनमा रेडिएसन थेरापी सेवा सुरु गरेको छ। अत्याधुनिक उपकरणको प्रयोग गरेर अब नोबेलमा क्यान्सर रोगको दैनिक ओपिडी सेवा, डे केयर, भर्ना गरी उपचार गरिने अन्तरंग सेवा, किमोथेरापी, रेडिएसन थेरापी, र ब्राकिथेरापीको सुविधा उपलब्ध हुनेछ। विशेषगरी, सिमेन्स कम्पनीको सोमाटो गो सिम आरटी सिटी मिसिनबाट रेडिएसन थेरापी सुरु गरिएको छ।
नोबेलमा पहिलो पटक प्रयोगमा ल्याइएको ‘एज’ नामक उपकरणले शल्यक्रिया बिना नै शरीरभित्रको क्यान्सर निर्मूल गर्न मद्दत गर्नेछ। अन्कोलोजिष्ट डा. प्रदिप भण्डारीका अनुसार, यस उपकरणबाट सामान्य स्वास्थ्य अवस्थालाई क्षति नगरी क्यान्सरको सेललाई नष्ट गर्न सकिन्छ। यसले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउने विश्वास चिकित्सकहरूले व्यक्त गरेका छन्।
अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोगले नोबेल शिक्षण अस्पताल क्यान्सर उपचारको क्षेत्रमा नयाँ माइलस्टोन स्थापित गर्न सफल भएको छ।