कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो साधारण सभा सम्पन्न

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, आश्विन ०२, २०८१

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो साधारण सभा नयाँ शैक्षिक कार्यक्रमहरूको प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले भदौ ३० गते सभाको उद्घाटन गरेका थिए।

 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको गौरवको रूपमा रहेको विश्वविद्यालयको स्तरोन्नतिमा विशेष चासो दिने प्रतिवद्धता व्यक्त गर्दै विश्वविद्यालयको प्रगतिको प्रशंसा गरे। उनले वर्षभित्र स्वास्थ्यसम्बन्धी प्राविधिक कार्यक्रमहरू सञ्चालन गर्न प्रदेश सरकारले विश्वविद्यालयलाई अस्पताल हस्तान्तरण गर्ने घोषणा गरे।

 

साधारण सभामा विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले मनमोहनलाई मध्यमदेखि उच्चस्तरका दक्ष जनशक्ति उत्पादन गर्ने संस्थाका रूपमा परिचित गराउँदै इन्जिनियरिङ, मेडिकल, तथा साइन्स एण्ड टेक्नोलोजी कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन भइरहेको जानकारी दिए।

 

मनमोहन विश्वविद्यालयले यसै वर्षदेखि अस्पताल व्यवस्थापनमा पठनपाठन सुरु गरेको छ, र निकट भविष्यमा व्यवस्थापन र कानुनका कक्षाहरू पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। साथै, विश्वविद्यालयले विभिन्न ल्याबहरू स्थापना गरिसकेको र छिट्टै मेडिसिन टेस्टिङ प्रयोगशाला स्थापना गर्ने योजना बनाएको छ।

 

सभामा पूर्वमन्त्री जीवन घिमिरेले विश्वविद्यालयको विकासमा प्रदेश सरकारले थप लगानी गर्नुपर्नेमा जोड दिए। सभासद मुकेश उपाध्यायले नेचुरोप्याथी (प्राकृतिक चिकित्सा) मा बजेट अभावका कारण कक्षा सञ्चालन हुन नसकेको भन्दै यसमा ध्यान दिन आग्रह गरे। सभासद गीता रेग्मीले बाहिरी जिल्लामा आङ्गिक क्याम्पसहरू स्थापना गर्नुपर्नेमा जोड दिइन्।

 

सभाले व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातकोत्तर कक्षाहरू सञ्चालन गर्ने प्रस्ताव पारित गर्दै चालु आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित बजेटका कार्यक्रमहरू स्वीकृत गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]