

विराटनगर / प्रदेश सरकारको आयोजनामा आज विराटनगरमा संविधान दिवस भव्य रूपमा मनाइएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको प्रभात फेरि विराटनगर स्थित रङ्गशालाबाट सुरु भई नगरका विभिन्न क्षेत्र परिक्रमा गर्दै आदर्श माध्यमिक विद्यालयमा समापन भएको थियो।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीयता कार्यान्वयनको महत्त्वपूर्ण अङ्ग कोशी प्रदेश रहेको उल्लेख गर्दै संघमा रहेका अधिकारहरू प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। मुख्यमन्त्री कार्कीले संविधानले प्रदत्त अधिकारहरूको समुचित प्रयोग गर्दै प्रदेशको विकास र समृद्धिको मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए।
प्रभातफेरिमा १५ वटा आकर्षक झाँकीहरू प्रदर्शित गरिएको थियो। साथै, यसमा निजामती कर्मचारी, विद्यार्थी, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा प्रदेश सभा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
संविधान दिवसको अवसरमा आयोजित यस कार्यक्रमले संघीयताको भावना अभिवृद्धि गर्न र प्रदेशको पहिचानलाई सुदृढ बनाउने विश्वास लिइएको छ।
तस्बिर;-