चर्को गर्मीले जनजीवन प्रभावित

Logo
सरिता कर्मकार प्रकाशित सोमबार, आश्विन ०७, २०८१

विराटनगर/केही दिनयता बढेको चर्को गर्मीका कारण जनजीवन निकै प्रभावित भएको छ। बिहानैदेखि लाग्ने चर्को घामले मानिसहरूलाई दैनिक कामकाज र आवतजावतमा समस्या परिरहेको छ। तापक्रमको वृद्धिका कारण घरबाहिर निस्कनसमेत कठिन भइरहेको छ भने कार्यालय र अन्य कामका सिलसिलामा बाहिर जानुपर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।

घरभित्र समेत पंखाको हावा तातो हुने र धारामा आउने पानी पनि तातो हुने समस्याले गर्दा मानिसहरूलाई अझै असहज भइरहेको छ। बिहानदेखि नै चर्को घाम लाग्दा विद्यालय र कार्यालय समयमै पुग्न समस्या परेको छ भने, दिनभरको तातोले गर्दा बजार र सडक सुनसान देखिन्छन्।

गर्मीका कारण स्वास्थ्य समस्या पनि बढ्दै गएका छन्। डिहाइड्रेसन, टाउको दुख्ने, र घामले जलेर छाला रातो हुने समस्या देखिएका छन्। चिकित्सकहरूले यस्तो मौसममा पर्याप्त मात्रामा पानी पिउन र अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सल्लाह दिएका छन्।

बढ्दो गर्मीले विद्युत् उपभोगमा समेत वृद्धि भएको छ, जसका कारण कतिपय स्थानमा लोडसेडिङको समस्या देखिन थालेको छ। गर्मीबाट बच्न मानिसहरूले अत्यावश्यक सामानको जोहो गरिरहेका छन् भने कतिपयले एसी, पंखा, फ्रिज जस्ता इलेक्ट्रोनिक सामानको प्रयोग बढाएका छन्।

मौसमविद्हरूले अाज नेपालको कोशी प्रदेश,मधेस प्रदेश र बागमती प्रदेशको विभिन्न स्थानहरुमा वर्षा हुन सक्ने अनुमान लगाएको छ।देशका पहाडी भूभागका सोमबार मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदली हुने तथा कतिपय क्षेत्रमा सफा मौसम रहने छ ।

देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको साथै देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै महाशाखाले राति कतिपय क्षेत्रमा वर्षा हुने जनाएको छ ।

सोमबार राति कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका एकदुई स्थानमा धेरै वर्षाको पनि सम्भावना छ । वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

मंगलबार सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]