

विराटनगर/बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं पक्राउ परेपछि उनका समर्थकहरू विरोधमा उत्रिएका छन्। विरोधका क्रममा प्रसाईंका समर्थकहरूले आइतबार राति र सोमबार बिहान गरी दुईवटा भारतीय ट्रकमा आगजनी गरेका छन्।
आइतबार राति करिब ११ बजे कनकाई–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा रहेको भारतीय ट्रकमा आगजनी गरिएको थियो। सो ट्रकमा प्लाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ ढुवानी भइरहेको थियो। बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा प्रहरीले आगो निभाएपछि ट्रकको अगाडिको भाग क्षतिग्रस्त भएको छ।
यसैगरी, सोमबार बिहान बिर्तामोड–६ गिरीबन्धु टी इस्टेट अगाडि पूर्वपश्चिम राजमार्गमा अर्को भारतीय ट्रकमा पनि आगजनी गरिएको छ। सुनसरीको दुहबीबाट काँकडभिट्टा जाँदै गरेको खाली ट्रकमा ५–६ जनाको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।
प्रसाईं पक्राउको विरोधमा उनका समर्थकहरूले सोमबार झापामा चक्काजामको आह्वान गरेका छन्। यसअघि, आइतबार प्रहरीले झापामा दुईजना समर्थकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन्।
समर्थकहरूले प्रसाईंलाई तत्काल रिहा गर्न माग गर्दै विरोधका कार्यक्रमहरू घोषणा गरेका छन्। झापाको विभिन्न क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको छ भने परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरी सतर्करहेको छ।