

विराटनगर/मोरङको रंगेली नगरपालिका वडा नंं ७ मा रहेको रंगेली अस्पतालमा डेंगु संक्रमित बिरामीहरूको संख्या बढ्न थालेको छ। गर्मी यामको अन्त्यतिर अस्पतालमा उपचारका लागि आएका बिरामीहरूको रगत परीक्षण गर्दा डेंगुको संक्रमण भेटिन थालेको छ। अस्पतालका अनुसार पछिल्लो सातादेखि डेंगु संक्रमित बिरामीहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ।
रंगेली अस्पतालका डाक्टर सुरज अर्यालका अनुसार, साताभित्र करिब डेढ दर्जन बिरामी भर्ना भएका छन्, जसमा तीनजना बिरामीलाई आइसियूमा राखेर उपचार भइरहेको छ भने एकजनालाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ। बाँकी बिरामीहरू उपचारपछि घर फर्किसकेका छन्। यसअघि फाटफुट देखिएको डेंगुको संक्रमण एक्कासी बढ्न थालेको डाक्टर अपिल खनालले जानकारी दिए।
डाक्टर खनालले डेंगुबाट बच्न घर वरिपरि सरसफाइ गर्नुपर्ने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने, अनावश्यक रुपमा पानी जम्मा हुन नदिनुपर्ने, र बारम्बार ज्वरो आएमा तुरुन्तै अस्पतालमा सम्पर्क गर्न आग्रह गरेका छन्।
रंगेली अस्पतालका ल्याब प्रमुख ललित यादवका अनुसार, ज्वरोका बिरामीहरूको रगत परीक्षण गर्दा डेंगु संक्रमण पाइएको हो। यो अस्पतालबाट नजिकका क्षेत्रहरू जस्तै रंगेली नगरपालिका, सुनबर्सी नगरपालिका, धनपालथान गाउँपालिका, रतुवामाई नगरपालिका, कानेपोखरी गाउँपालिका तथा भारतको सीमावर्ती क्षेत्रका सर्वसाधारणहरूले समेत नियमित रूपमा सेवा लिँदै आएका छन्।
डेंगु संक्रमित बिरामीहरूको संख्या बढेपछि रंगेली नगरपालिकाले वडा स्तरमा स्वास्थ्यकर्मी परिचालन गरी सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको मेयर दिलिप बगडियाले जानकारी दिएका छन्।
सम्पर्क गरिएका स्वास्थ्यकर्मीहरूले नागरिकलाई घर वरिपरि सरसफाइ गर्न, पानी जम्न नदिन, र डेंगुबाट बच्नका उपायहरू अपनाउन सुझावदिएका छन्।