

विराटनगर/ जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले असोज ११ गते बाढीसम्बन्धी विशेष बुलेटिन जारी गर्दै प्रमुख नदीहरूमा उच्च र अति उच्च जोखिम रहेको चेतावनी दिएको छ। बुलेटिनअनुसार आगामी तीन दिनसम्म भारी वर्षा हुने सम्भावना रहेकोले नदीहरूको जल सतह उल्लेखनीय रूपमा बढ्न सक्ने उल्लेख गरिएको छ।
विशेष गरी नारायणी नदीमा असोज ११ र १२ गते उच्च तथा अति उच्च जोखिम रहने विभागको अनुमान छ। त्यस्तै कन्काई नदीमा असोज ११ गते उच्च जोखिम रहेको र अन्य समयमा मध्यम जोखिम रहने जनाइएको छ। कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम जोखिममा रहेको छ भने बागमती नदी पँधेरा दोभान क्षेत्रमा असोज ११ मा उच्च र १२ मा अति उच्च जोखिम रहने बताइएको छ।
पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम र १२ गते उच्च जोखिम रहेको छ। यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम र १२ गते अति उच्च जोखिम रहेको छ। बबई नदीमा पनि असोज ११ मा मध्यम र १२ मा अति उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। यी नदीहरूका सहायक नदीहरूमा समेत खतराको तह पार गर्ने सम्भावना रहेकोले सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
विपद् प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। उनले उच्च जोखिममा रहेका ५६ जिल्लामा रात्रीकालीन सवारी नचलाउन पनि सिफारिस गरिएको जानकारी दिए।
महाशाखाले बाढीको जोखिमलाई ध्यानमा राख्दै अबको तीन दिन ती नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको छ। असोज १४ गतेदेखि भने वर्षा प्रणाली कमजोर हुने अनुमान गरिएको छ।