

विराटनगर /देशभर परेको अविरल भारी वर्षाका कारण राष्ट्रिय हवाइ उडानहरू व्यापक रूपमा प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, देशभरका अधिकांश आन्तरिक उडानहरू अवरोध भएको छ। मौसम प्रतिकूल हुँदा आन्तरिक उडानहरूमा कठिनाइ उत्पन्न भएको छ भने कतिपय उडानहरू स्थगितसमेत गरिएका छन्।
यद्यपि, अन्तर्राष्ट्रिय उडानहरू भने सुचारु रहेको छ। तर, मौसमका कारण केही अन्तर्राष्ट्रिय उडानहरूमा पनि समस्या देखिएको छ। स्काइ दुबईको एक जहाजले त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेपछि लखनउमा डाइभर्ट गरिएको शेर्पाले जानकारी दिए।
विमानस्थलका अधिकारीहरूले मौसममा सुधार आएपछि उडानहरू नियमित हुने जानकारी दिएका छन्।