कोशी ब्यारेजमा अत्यधिक पानीको बहाव, सवारीसाधन र आवतजावतमा प्रतिबन्ध

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, आश्विन १२, २०८१

विराटनगर /कोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजको पुलमाथिबाट पानी बग्न थालेको छ। सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार, ब्यारेजको १८ नम्बर ढोकामाथिबाट पानी बग्न थालेपछि सवारीसाधन र मानिसको आवतजावतमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

कोशीमा पानीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ। दिउँसो ४ बजे गरिएको मापनअनुसार कोशीको बहाव प्रति सेकेण्ड ५ लाख ४९ हजार क्यूसेक पुगेको छ। अत्यधिक पानीको बहावका कारण कोशी ब्यारेज क्षेत्रमा गम्भीर जोखिम उत्पन्न भएको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

सुनसरी प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट सवारीसाधन र मानिस आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएको जानकारी गराएको छ। सप्तकोशीमा जलसतह ३७ वर्षयताकै उच्च स्तरमा पुगेको छ, जसमा सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो।

कोशी नदीको जलसतह उच्च भएपछि आसपासका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न प्रशासनले विशेष आग्रह गरको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]