विपद्का कारण देशभर ११२ को मृत्यु, ६८ बेपत्ता

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित आइतबार, आश्विन १३, २०८१

झापा / केहि दिन देखि अविरल वर्षासँगै निम्तिएको विपद्का कारण विभिन्न जिल्लामा ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

बाढीपहिरो र डुबानबाट गएरातिसम्म १ सय १२ जनाको ज्यान गएको र ६८ जना बेपत्ता छन्। र देशभर कम्तीमा १ सय जना घाइते भएका छन । सडक, पुल, विद्युतलगायतका संरचनाहरुमा समेत क्षति पुग्दा मुलुकका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।

काठमाडौँ उपत्यकामा २४ घण्टामा ३ सय २३ मिलिमिटर वर्षा मापन गरिएको छ । सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै बाढीपहिरो र डुबानमा परी ३७ जनाको मृत्यु भएको छ, २० जना बेपत्ता छन ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट शनिबार राति ११ बजेसम्म प्राप्त विवरणअनुसार विपद्बाट काभ्रेमा ३४, ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, मकवानपुरमा ७, पाँचथर र भक्तपुरमा ५÷५, सिन्धुपाल्चोकमा ४ र दोलखामा ३ जनाको मृत्यु भएको छ ।

यस्तै धनकुटा र सोलुखुम्बुमा २÷२ जना, रामेछाप, महोत्तरी र सुनसरीमा १÷१ जनाको ज्यान गएको छ । पाँचथर, झापा, महोत्तरी, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, धादिङ र रूपन्देहीमा गरी ६८ जना बेपत्ता छन ।
गृह मन्त्रालयको अभिलेखमा भने बाढीपहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ९९ मात्र छ । ‘फिल्डबाट तथ्यांक आउने क्रम जारी रहेकाले विवरण अद्यावधिक भइरहेको छ,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने । उनका अनुसार विपद्मा फसेका २ हजार २३ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ ।

धादिङमा माइक्रोबसमा पुरिएर ज्यान गुमाएका १४ जना र मकवानपुरको सिस्नेरीमा पुरिएर मृत्यु भएका ६ जनाको शव पोस्टमार्टमका लागि शनिबार राति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको छ । बुटवलबाट शुक्रबार काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङ र काठमाडौंको सीमा क्षेत्र झ्याप्लेखोलामा पहिरोमा पुरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]