

विराटनगर/ आज बिहान श्री एयरलाइन्सको काठमाडौँबाट विराटनगर जाँदै गरेको विमान मौसमको प्रतिकूल अवस्थाका कारण आधा घण्टासम्म आकाशमा होल्ड हुनु परेको छ। विमान विराटनगर विमानस्थलमा अवतरण गर्न समस्या भएपछि, आकाशमा करिब ३० मिनेट होल्ड भएर अन्ततः सुरक्षित रूपमा अवतरण गर्यो।
विराटनगर विमानस्थलका प्रमुख सुभाष झाका अनुसार, मौसममा भएको वर्षा र तेज हावाका कारण विमानस्थल अस्थायी रूपमा बन्द भएको थियो। उक्त विमानस्थल बिहान करिब साढे ८ बजेपछि पुनः सञ्चालनमा आएको जानकारी दिइएको छ।
विमानस्थल खुला भएपछि, श्री एयरलाइन्सको विमानले सफलतापूर्वक अवतरण गर्न सकेको थियो। अवतरणको समयमा विमानले आकाशमा ६ पटक फन्का लगाएको पुष्टि भएको छ। यात्रु तथा चालक दल सुरक्षित रहेको जनाइएको छ।