

विराटनगर/खोटाङ जिल्लामा तीन दिनभित्र खुकुरी प्रहारका तीनवटा घटनामा चार जना घाइते भएका छन्। सबै घटनामा मादक पदार्थ सेवनको संलग्नता देखिएको छ।
सबैभन्दा नयाँ घटना हिजो केपिलासगढी गाउँपालिका–२ कुदुममा भएको हो। ५३ वर्षीय धौलाराज राईले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ४३ वर्षीया ललिता राईलाई खुकुरी प्रहार गरेका छन्। घटना दिउँसो २ बजे भएको थियो। दाहिने कुममा गम्भीर चोट लागेकी ललिताको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने आरोपी धौलाराजलाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
यसअघि, साकेला गाउँपालिका–३ खिदीमामा शुक्रबार साँझ २५ वर्षीया झरना राईलाई उनका नाताले दाइ पर्ने २७ वर्षीय रविन राईले खुकुरी प्रहार गरी सख्त घाइते बनाएका थिए। झरनाको बाँया हातमा गम्भीर चोट लागेको र जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि उनलाई धरान पठाइएको छ। प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिक बिष्टका अनुसार रविनलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ।
यसैगरी, साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा शनिबार बिहान ११:३० बजेतिर २० वर्षीय महेश राईले मादक पदार्थ सेवन गरी आफ्नै २६ वर्षीय दाइ चन्द्रकुमार राईलाई खुकुरी प्रहार गरेका छन्। चन्द्रकुमारलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि अन्यत्र पठाइएको छ।
तीन दिनमा खोटाङमा भएका यी तीनवटा खुकुरी प्रहारका घटनाले मादक पदार्थ सेवन र घरेलु हिंसाका घटना वृद्धि भएको संकेत दिएको स्थानीयले जनाएका छन्। प्रहरी प्रशासनले यस्ता घटनालाई नियन्त्रणमा लिन विशेष सतर्कता अपनाएको छ।