कोशी प्रदेशमा बाढी र पहिरोका कारण ३४ करोडभन्दा बढीको अन्न बालीमा क्षति

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, कार्तिक ०१, २०८१

विराटनगर/ असोज दोस्रो साता भएको अत्यधिक वर्षापछि कोशी प्रदेशमा बाढी र पहिरोले ३४ करोड रुपैयाँभन्दा बढीको अन्न बालीमा क्षति पुर्याएको छ। उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बाली नष्ट भएको छ।

यो वर्ष प्रदेशमा दुई लाख ७५ हजार दुई सय ६७‍.९८ हेक्टर जमिनमा धान रोपाइँ गरिएको थियो। तर, बाढीका कारण पाँच हजार ७ सय २२.७८ हेक्टर जमिनमा १७ करोड ६१ लाख ७५ हजार रुपैयाँ बराबरको धान बालीमा क्षति पुगेको छ। खाद्य सुरक्षा तथा अनुगमन महाशाखा कोशी प्रदेशकी प्रमुख दीपा दियालीका अनुसार सबैभन्दा धेरै क्षति खोटाङमा भएको छ, जहाँ ३ हजार ७ सय ३९ हेक्टर धानबाली नष्ट भएको छ।

अन्य जिल्लाहरूमा पनि ठूलो क्षति भएको छ, जसमा सुनसरीमा ८ सय २४ हेक्टर, उदयपुरमा ३ सय ९८ हेक्टर, झापामा २ सय ८७ हेक्टर, मोरङमा २ सय ४४ हेक्टर, भोजपुरमा १ सय १३ हेक्टर, तेह्रथुममा ३४ हेक्टर र सोलुखुम्बुमा ११ हेक्टर जमिनमा धानबाली क्षति भएको छ।

तरकारीतर्फ पनि ठूलो क्षति पुगेको छ, जसमा ४ सय १४ हेक्टर जमिनमा ११ करोड १८ लाख ७८ हजार रुपैयाँ बराबरको तरकारी बाली नष्ट भएको छ। यस्तै, २ हजार तीन सय ५७ हेक्टर जमिनमा लगाइएको कोदोमा ३ करोड ७१ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

सबैभन्दा ठूलो आर्थिक क्षति सुनसरीको हरिनगर गाउँपालिकामा भएको छ, जहाँ बाढीले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायतका क्षेत्रमा २४ करोड २७ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]