तिहार नजिकिँदै गर्दा कुमाले समुदायको व्यस्तता बढ्यो, पुख्र्यौली पेसा संकटमा

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, कार्तिक ०३, २०८१

सुनवर्षी/मोरङको सुनवर्सि नगरपालिका ९ स्थित कदमगाछिका पंडित समुदायका कुमालेहरू यतिबेला आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन व्यस्त छन्। तिहार पर्वमा विशेषगरी लक्ष्मीपूजा हुने भएकाले माटाका दियो, घैला, कोशिया, कुहा, मटकुरी, खुत्रुके, हात्ती, ढकना, र दलिया लगायतका सामग्रीहरूमा उच्च माग हुन्छ। कुमालेहरू विशेषगरी चिम्टाइलो माटोको प्रयोग गरेर यी सामग्रीहरू तयार पारिरहेका छन्।

सुरेन पंडितले भनेका छन् कि आठ वर्षअघि उनीहरू यही पेसाबाट राम्रो आम्दानी गर्थे, तर बजारमा झिलिमिली इलेक्ट्रोनिक सामग्रीको आगमनपछि उनीहरूको व्यवसायमा गिरावट आएको छ। मेहनत अनुसार थोरै मात्र फाइदा हुने बताए। माटो, पराल, र दाउराको उच्च लागतले सामग्री उत्पादन झनै खर्चिलो हुने गरेको छ।

माटाका भाँडाहरू बनाउँदा पहिलो चरणमा सुकाउनका लागि दिनभरि घाममा राख्नु पर्छ र २४ देखि ७२ घण्टा सम्म आगोमा पकाउनुपर्ने हुन्छ। तयार सामग्रीहरू रंगेली, कर्सिया, दोहमाना, र डाइनिया बजारहरूमा बिक्री गरिन्छ। तिहारका लागि दियो र घैला प्रति सयकडा ६० रुपैयाँमा बिक्री भइरहेको छ।

पुख्र्यौली पेसा भएता पनि नयाँ पुस्ताले यस पेसालाई बेवास्ता गरेकोमा कुमालेहरू चिन्तित छन्। रामकृष्ण पंडितका अनुसार रंगेली नगरपालिकाले केही सहयोग गरे पनि सुनवर्सि नगरपालिकाले भने अहिलेसम्म कुनै सहयोग नगरेको आरोप छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]