

ग्रामथान / आउदै गरेको मङ्सिर १६ गते हुने स्थानीय निकायको उपनिर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमाले भित्र ११ जनाले इच्छा देखाएका छन् । नेकपा एमाले ग्रामथान गाउँपालिका कार्य समितिले झोराहाटमा रहेको मनिकर्मीका भवनमा ७ गते आयोजित छलफल तथा बैठकमा उम्मेदवारको विषयमा कुनै टुङ्गो लगाउन सकेन तर अध्यक्ष पदमा आकांक्षीहरू धेरै देखिए ।
नेकपा एमालेबाट ग्रामथान गाउँपालिकाका अध्यक्षका प्रत्याशीमा तुलसीराम विश्वास, कृष्णकुमार माझी, रेनु राज घिमिरे, आसनारायण माझी, तुलसी विश्वास, शिवनारायण माझी, नमनारायण चौधरी, युवराज खनाल, निर्मला अधिकारी, नवीन मण्डल र ध्रुवकुमार श्रेष्ठ रहेका छन् ।
२०७९ सालको स्थानीय निर्वाचनमा ग्रामथान गाउँपालिकामा सातवटा वडामध्ये पाँचवटा वडा अध्यक्षमा नेकपा एमालेका, एकजना माओवादीबाट र एकजना नेपाली कांग्रेसबाट विजयी भएका थिए ।
नेकपा एमाले ग्रामथान गाउँपालिका सदस्य तुलसी विश्वासका अनुसार यही कार्तिक २३ गतेभित्र पार्टीले उम्मेदवारको टुङ्गो लगाउनेछ र नेकपा एमाले ग्रामथान गाउँपालिकामा जसरी पनि जित्ने दाबी गरेका छन् ।
उम्मेदवारको विषयमा भएको छलफल तथा बैठक कार्यक्रम नेकपा एमाले ग्रामथान कार्यसमितिका अध्यक्ष सत्यनारायण माझीको अध्यक्षतामा भएको थियो ।
उता सत्ता साझेदार नेपाली कांग्रेसले पनि उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन भने नेपाली कांग्रेस पार्टी छाडेका नमोनारायण माझी माओवादी केन्द्रबाट टिकट पाई घरदैलो अभियानमा जुटिसकेका छन् ।