तिहार नजिकिँदै गर्दा मोरङको रमनपुर गाउँमा दाम्लो-मुखाडीको चटारो

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, कार्तिक १३, २०८१

सुनवर्षी /मोरङको सुनबर्षी नगरपालिका–५ स्थित रमनपुर गाउँमा तिहार पर्व नजिकिँदै गर्दा ३०० भन्दा बढी घरपरिवार अहिले व्यस्त छन्। गाउँमा रंगीबिरंगी दाम्लो, मुखाडी, जाबी, र डोरी बनाउने कामले रौनक बढाएको छ। स्थानीयवासीहरू सामूहिक रूपमा सनपाट (पटुवा) बाट दाम्लो, मुखाडी, र डोरी बनाउने काममा जुटिरहेका छन्।

दास (केवर) जातिका मानिसहरू वर्षको यो समयमा विशेषगरी तिहारका लागि धेरै दाम्लो र मुखाडी बनाउन लागेका हुन्। हरिलाल दासले बताएअनुसार, उनीहरूले साउन महिनादेखि नै यस कामलाई थालनी गरेका छन्। ४० किलो सनपाटबाट करिब ३ सयदेखि ४ सय वटा दाम्लो र मुखाडी बनाउने गरिएको छ। तिहारको गाईपूजा पर्वमा विशेष रूपमा गाईलाई नयाँ डोरी, दाम्लो, मुखाडी लगाएर पूजा गर्ने परम्परा रहिआएको छ, जसका लागि यस गाउँमा बनेका सामानहरूको माग निकै बढ्ने गर्दछ।

हरिलालका अनुसार, बजारमा प्लास्टिकका डोरी उपलब्ध भएपछि सनपाटबाट बनेका सामानको मागमा कमी आएको छ, जसले गर्दा परम्परागत पेशामा असर परेको छ। उनले दुःख व्यक्त गर्दै भने, “१५ वर्ष पहिले प्लास्टिकको डोरी नहुँदा ५० देखि ६० रुपैयाँ प्रति दाम्लोमा बिक्री हुन्थ्यो, तर अहिले ३० रुपैयाँमा मात्र बिक्री गर्नुपर्छ।”

रमनपुरका स्थानीयले बनाएका दाम्लो-मुखाडी साइकलमा बोकेर मोरङको रंगेली, विराटनगर, सुनसरीको इटहरी, झुम्का, झापाको दमक, बिर्तामोड, सिराहा, जनकपुर लगायतका क्षेत्रमा बिक्री गर्न जाने गरेका छन्। गाउँका सयौं परिवार अहिले आफ्ना पुर्ख्यौली पेशाबाट आम्दानी गर्दै जीविकोपार्जन गरिरहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]