

विराटनगर /पूर्वपश्चिम राजमार्गमा सार्वजनिक यातायातका सवारी साधनमा दुर्घटना न्यूनीकरण गर्न ‘टाइम कार्ड’ लागू गर्ने निर्णयमा यातायात व्यवसायीहरू सहमत भएका छन्। बस तथा अन्य सार्वजनिक सवारी साधनका ठक्करले दुर्घटनामा परेर मानिसको ज्यान गुमाउने घटनाहरू बढ्दै गएकाले सवारी साधनलाई निश्चित समयमा सञ्चालन गराउन टाइम कार्ड लागू गर्ने योजना बनाइएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको समन्वयमा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीमा आयोजित छलफलमा सबै सरोकारवालाहरू टाइम कार्ड लागू गर्ने विषयमा सहमत भएका छन्। टाइम कार्ड लागू भएपछि निश्चित समयमा सवारी छुट्ने र तोकिएको समयमा गन्तव्यमा पुग्नुपर्ने प्रावधानले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
छलफलमा यातायात व्यवसायी विष्णकुमार श्रेष्ठले टाइम कार्ड लागू भए दुर्घटना न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको बताए। २०७६ सालमा टाइम कार्ड लागू हुँदा दुर्घटना संख्या निकै घटेको स्मरण गर्दै श्रेष्ठले यस पटक पनि यो व्यवस्था प्रभावकारी हुने विश्वास व्यक्त गरे।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले झापा, मोरङ, र सुनसरी जिल्लामा एकसाथ टाइम कार्ड लागू गर्दा दुर्घटना घटाउने उद्देश्य पूरा हुने बताए। उनले मोरङ र सुनसरीका ट्राफिक प्रमुखहरूसँग समन्वय गरी मंसिर महिनाबाटै यो प्रणाली लागू गर्न निर्देशन दिएका छन्।
यस्तै, छलफलमा इ–रिक्सा र अटोरिक्साको आवागमन व्यवस्थित गर्न स्थानीय तहको सक्रियता आवश्यक रहेकोमा पनि जोड दिइयो। छलफलमा झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, यातायात व्यवस्था कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटा, सशस्त्र प्रहरी प्रमुख कबिन्द्र राई, व्यवसायी, र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।