

विराटनगर/ अाज कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि अर्थात् धनतेरस, जसलाई धनत्रयोदशी पनि भनिन्छ, देशभर धूमधामका साथ मनाइँदैछ। यस अवसरमा बहुमूल्य वस्तुहरू किनमेल गर्ने परम्परा रहेको छ। विशेषगरी, सुन, चाँदी, भाँडाकुँडा, र सवारी साधन किनमेल गरिन्छ। विराटनगरका सुनचाँदी पसलहरूमा आज ग्राहकहरूको भीड छ, जहाँ पसलेहरू सुनचाँदी बेच्न व्यस्त देखिन्छन्।
धनतेरसका अवसरमा सुन किन्ने चलनलाई विशेष मान्यता दिइन्छ। सुनलाई समृद्धिको प्रतीक मानिन्छ, र यसै कारण लामो समयदेखि यस दिन सुन किन्ने परम्परा चलिआएको छ। मान्यताअनुसार, धनतेरसमा सुनको खरिद गर्नाले घरमा समृद्धि र स्थिरता रहन्छ भन्ने विश्वास छ। यसैलाई ध्यानमा राख्दै राष्ट्र बैंकले पनि धनतेरस लक्षित गरेर सुनका असर्फी बिक्री गर्दै आएको छ।
धनतेरसमा सुन वा चाँदी किन्न नसक्नेले तामा, पित्तलका भाँडा वा पूजाका थाली पनि किनमेल गर्ने गर्छन्। यस दिन किनिएको वस्तु टिकाउ, नाफादायक, र शुभ हुने धार्मिक मान्यता छ। तिहार सुरु हुनुभन्दा एक दिन अघिको यो विशेष दिनमा धेरै मानिसहरूले आफ्नो गच्छेअनुसार केहि न केहि अवश्य किन्ने परम्परा छ। धनतेरसकै दिनदेखि उधारो कारोबार रोकेर नगद कारोबार गर्ने चलन पनि रहिआएको छ।
यस दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव पनि मनाइन्छ। साथै, आजदेखि यमदीपदान सुरु गर्ने परम्परा रहेको छ, जसमा परिवारका सदस्यहरूको नाम लिई प्रत्येक साँझ दक्षिणतर्फ फर्केर दीप जलाइन्छ।
तिहारको लक्ष्मी पूजाको दिन यस वर्ष कार्तिक १५ गते परेको छ, भने भाइटीका कात्तिक १८ गते मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ।